प्रहार समाचार । तनहुँ, ५ चैत २०८२ बिहिबार । पाँचौं शुक्लागण्डकी महोत्सव–२०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । भोलिदेखि सुरु हुने महोत्सवका लागि आयोजकले आवश्यक सबै व्यवस्थापन सम्पन्न गरेको जनाउँदै दुलेगौंडा क्षेत्र यतिबेला उत्सवमय बनेको छ ।

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खुल्ला चौरमा सञ्चालन हुने महोत्सवको उद्घाटन तनहुँ–२ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले गर्ने कार्यक्रम तय भएको शुक्लागण्डकी नगर उद्योग बाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठले जानकारी दिए ।

“आर्थिक, सामाजिक तथा खेलकुद विकास, कृषि तथा पर्यटन प्रवर्द्धन र कला–संस्कृतिको संरक्षण” भन्ने मूल नाराका साथ सञ्चालन हुने महोत्सव चैत १७ गतेसम्म जारी रहनेछ ।
उद्घाटनअघि विभिन्न संघसंस्था, आमा समूह तथा जातजातिको सहभागितामा झाँकीसहितको ऱ्याली निकालिनेछ भने उत्कृष्ट झाँकीलाई पुरस्कृत गरिने प्रचार प्रसार समितिका संयोजक बाल कृष्ण बि.क.ले जानकारी दिए ।

महोत्सवमा १ सय ७५ वटा स्टल रहनेछन्, जसमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट तथा सामाजिक संस्थाका स्टल समावेश छन् । सबै स्टल बुकिङ भइसकेको आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, लाईभ कन्सर्ट, बाल उद्यान, पदयात्रा, भलिबल प्रतियोगिता, रत्यौली तथा कौरा नृत्य, विद्यालयस्तरीय नृत्य प्रतियोगिता लगायत कार्यक्रम समावेश गरिएका छन् । साथै यसपटक टिकटक र रिल्स प्रतियोगिता पनि थपिएको छ ।
आयोजकका अनुसार महोत्सव अवधिभर करिब २ लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको छ भने झण्डै ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महोत्सवले स्थानीय व्यापार, उत्पादन र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ



























