प्रहार समाचार । तनहुँ, ६ चैत २०८२ शुक्रबार । तनहुँको बन्दीपुर गाउँपालिका–८ हुस्लाङमा निर्माण गरिएको आदिवासी जनजाति संग्रहालय स्थानीय पहलबाट सम्भव बनेको महत्वपूर्ण सम्पदा भए पनि अपेक्षित सरकारी प्राथमिकता नपाउँदा यसको सम्भावना अझै पूर्ण रूपमा उपयोग हुन सकेको छैन।

सभ्यता र मौलिकतालाई जोगाउँदै समृद्ध समाज र सुन्दर नेपाल निर्माण गर्ने लक्ष्यसहित सुरु गरिएको हुस्लाङकोट आदिवासी जनजाति संग्रहालय अहिले स्थानीय पहिचानको महत्वपूर्ण आधार बनेको छ। तत्कालीन बन्दीपुर नगरपालिकाको समयमा, वि.सं. २०७३ मा नीति तथा बजेट सार्वजनिक तथा योजना बाँडफाँटका क्रममा लक्षित वर्ग संयोजकको भूमिकामा रहेर करिब १५ लाख रुपैयाँ बजेटमध्ये ५/५ लाख छुट्याई बन्दीपुर र हुस्लाङकोटमा संग्रहालय निर्माण गर्ने परिकल्पना अघि बढाइएको थियो।
संग्रहालय निर्माणका लागि नेपाल आदिवासी जनजाति युवा महासंघका केन्द्रीय सांगठानिक सचिव सिद्धान्त थापा मगरद्वारा वि.सं. २०७३ असार १२ गते शिलान्यास गरिएको थियो भने सोही वर्ष मंसिर ६ गते ‘घुमाउने घर’ सहित संग्रहालयको विधिवत उद्घाटन गरिएको थियो। स्थानीय तहको पहल र समुदायको सक्रियतामा निर्माण सम्पन्न भएको यो संग्रहालयले आदिवासी जनजातिको जीवनशैली, संस्कृति र परम्परागत ज्ञानलाई संरक्षण गर्दै आएको छ।

नेपाल आदिवासी जनजाति युवा महासंघका केन्द्रीय सांगठानिक सचिव सिद्धान्त थापा मगर संग्रहालयहरूले हाम्रो पहिचान र इतिहास जोगाउने मात्र होइन, भावी पुस्तालाई आफ्ना जरा चिनाउने काम गरेको बताए । उनले संग्रहालयलाई संरक्षणसँगै पर्यटनसँग जोड्न आवश्यक रहेकोमा जोड दिए।

यद्यपि, संग्रहालयलाई पर्यटनसँग जोडेर स्थानीय अर्थतन्त्र मजबुत बनाउने सम्भावना हुँदाहुँदै पनि आवश्यक सरकारी ध्यान नजाँदा महत्वपूर्ण यो स्थान ओझेलमा परेको स्थानीय सरोकारवालाहरूको भनाइ छ। प्रमुख सल्लाहकार ज्ञानेन्द्र बहादुर गुरुङ स्थानीय सरकारले प्राथमिकता दिएर योजनाबद्ध रूपमा अघि बढाएको खण्डमा संग्रहालय आर्थिक विकासको महत्वपूर्ण आधार बन्नेमा विश्वास्त छन्।


हुस्लाङकोटको यो संग्रहालय केवल संरचना मात्र नभई स्थानीय सभ्यता, संस्कृति र मौलिकताको जीवित दस्तावेज हो। अब यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै पर्यटनसँग जोड्न सके, बन्दीपुर क्षेत्रको समृद्धिमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ।




























