प्रहार समाचार। काठमाडौँ, ५ चैत २०८२ बिहीबार । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिन देशका विभिन्न क्षेत्रमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार शुक्रबारदेखि कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा र हिमपात हुन सक्नेछ।

साथै बागमती, मधेश र लुम्बिनी प्रदेशका केही जिल्लामा पनि मौसममा खराबी देखिने जनाइएको छ।शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र झापा आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको छ, जसको गति १११ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने बताइएको छ।हावाहुरीका कारण रुख ढल्ने, घरका छाना उड्ने तथा विद्युत् र सञ्चार सेवा अवरुद्ध हुन सक्ने जोखिम रहेको भन्दै प्राधिकरणले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।























