प्रहार समाचार। काठमाडौँ, ५ चैत २०८२ बिहीबार । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रस्तुत गरेको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आज राष्ट्रपति भवनमा उक्त प्रतिवेदन बुझाएका हुन्। यस अवसरमा राष्ट्रपति पौडेलले कठिन तथा चुनौतीपूर्ण परिस्थितिका बीच पनि समर्पण, इमानदारी र निरन्तर प्रयासका साथ निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा सन्तोष व्यक्त गरेका छन्।

निर्वाचनलाई व्यवस्थित र सफल बनाउन भूमिका खेलेको भन्दै उनले निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी तथा सम्बन्धित सम्पूर्ण पक्षप्रति आभार व्यक्त गरे।‘फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराई आयोगले आफ्नो जिम्मेवारी उत्कृष्ट रूपमा पूरा गरेको छ।
यसले निर्वाचन प्रणालीप्रति जनविश्वास अझ सुदृढ भई लोकतन्त्र थप मजबुत भएको महसुस गरेको छु,’ राष्ट्रपति पौडेलले बताएका छन्।



























