हेडलाईनसमाचारगण्डकीस्वास्थ्य

लमजुङको सुन्दरबजारमा अस्पताल निर्माणको बाटो खुल्यो : जग्गा प्रयोग सम्झौतापछि काम अघि बढ्ने

• विजय अधिकारी (संवाददाता) लमजुङ, ३ चैत २०८२ मंगलबार । लमजुङको सुन्दरबजारमा अस्पताल भवन निर्माण प्रक्रिया अघि बढाउने महत्वपूर्ण चरण पूरा भएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ चैत १८ गतेको निर्णयअनुसार उपलब्ध गराइएको जग्गा प्रयोगका लागि सुन्दरबजार नगरपालिका र जिल्ला मालपोत कार्यालय लमजुङबीच औपचारिक सम्झौता भएको हो। यससँगै लामो समयदेखि प्रतिक्षामा रहेको अस्पताल भवन निर्माणले अब गति लिने संकेत देखिएको छ।

१५–१–१–० क्षेत्रफलमा फैलिएको उक्त जग्गा प्रयोगका लागि गरिएको सम्झौतामा सुन्दरबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती र मालपोत कार्यालय लमजुङका प्रमुख ईश्वर कमल श्रेष्ठले हस्ताक्षर गरेका छन्। दुवै पक्षबीचको सहमतिले निर्माण प्रक्रियामा रहेका कानुनी जटिलता अन्त्य गरेको सम्बन्धित निकायले जनाएको छ। सम्झौतासँगै अस्पताल निर्माणका लागि आवश्यक प्रशासनिक र कानुनी प्रक्रिया पूरा भएको भन्दै अब छिट्टै निर्माण कार्य अगाडि बढ्ने अपेक्षा गरिएको छ। स्थानीय तहले यसलाई सुन्दरबजार क्षेत्रको स्वास्थ्य पूर्वाधार विकासतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

अस्पताल भवन निर्माण सम्पन्न भएपछि सुन्दरबजारसहित आसपासका बासिन्दाले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास गरिएको छ। हालसम्म आधारभूत स्वास्थ्य सेवामै सीमित स्थानीयले अब स्तरीय उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button