प्रहार समाचार । ३ चैत २०८२, मङ्गलबार। निर्वाचनमा पराजयपछि नेपाली कांग्रेसभित्र सभापति गगन थापाको राजीनामाको विषयलाई लिएर विवाद सुरु भएको छ। थापाले पार्टीको हारको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन चाहेका छन् तर उपसभापति विश्वप्रकाश शर्माले उनलाई त्यसो नगर्न आग्रह गरिरहेका छन्।

यसबीच पूर्वसभापति शेरबहादुर देउवापक्षीय केही नेताले भने सामाजिक सञ्जालमार्फत राजीनामाको विषय उठाउँदै आएका छन्। कांग्रेसको विधानअनुसार सभापतिले राजीनामा उपसभापतिसमक्ष बुझाउनुपर्छ। तर उपसभापति शर्माले राजीनामा रोक्ने वा आवश्यक परे केन्द्रीय कार्यसमितिबाट अस्वीकृत गराउने पक्षमा देखिएका छन्। यही कारण तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाउने र निर्वाचन समीक्षा गर्ने प्रक्रिया केही ढिला भएको बताइएको छ। महामन्त्री गुरुराज घिमिरेले भने चैत पहिलो साताभित्र केन्द्रीय कार्यसमितिको बैठक बस्ने र त्यहाँ निर्वाचन समीक्षा तथा आगामी १५औं महाधिवेशनको तयारीबारे छलफल हुने जानकारी दिएका छन्। उनका अनुसार अहिले सभापतिले राजीनामा दिनुभन्दा महाधिवेशनसम्म नेतृत्वको जिम्मेवारी पूरा गर्नु उपयुक्त हुने धारणा पार्टीभित्र छ।

पुस २७–३० मा भएको विशेष महाधिवेशनले देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भंग गरी गगन थापा नेतृत्वमा नयाँ समिति चयन गरेको थियो। तर त्यसपछि भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी जम्मा ३८ सिट मात्र जित्यो, जहाँ सभापति थापा स्वयं पनि पराजित भएका थिए।यद्यपि देउवा पक्षभित्रै पनि थापाको राजीनामा माग्ने कि तत्काल महाधिवेशनतर्फ जाने भन्ने विषयमा स्पष्ट मतैक्य देखिएको छैन। पूर्वसभापति शेरबहादुर देउवा विदेशमै रहेका कारण तत्कालीन संस्थापन पक्षको नेतृत्व कसले गर्ने भन्नेमा पनि अन्योल देखिएको छ।
























