हेडलाईनसमाचारगण्डकी

लमजुङमा ग्यास वितरणमा कडाइ : पहिला आउनेलाई पहिलो सेवा – सुत्केरी र ज्येष्ठलाई प्राथमिकता

• विजय अधिकारी (प्रहार संवाददाता) । लमजुङ, २ चैत २०८२ सोमबार । सम्भावित खाना पकाउने एलपी ग्यास अभावलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय लमजुङले ग्यास वितरण प्रणालीलाई व्यवस्थित बनाउन नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालको संयोजकत्वमा आइतबार बसेको ग्यास व्यवसायी, उपभोक्ता अधिकारकर्मी, जनप्रतिनिधि तथा सुरक्षा निकायको संयुक्त बैठकले वितरण प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउने निर्णय गरेको हो।

बैठकको निर्णयअनुसार अब ग्यास डिलर, डिपो तथा खुद्रा विक्रेताले “पहिला आउनेलाई पहिला सेवा” को आधारमा ग्यास वितरण गर्नुपर्नेछ। ग्राहकको नागरिकता नम्बर वा अन्य परिचय खुल्ने कागजातका आधारमा नाम, ठेगाना र फोन नम्बर अभिलेख राखेर एक परिवारलाई एउटा मात्र सिलिन्डर उपलब्ध गराइने व्यवस्था मिलाइनेछ।

त्यस्तै सुत्केरी तथा गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक भएको परिवार तथा भाडामा बस्ने विद्यार्थीलाई स्थानीय वडा कार्यालयको सिफारिसका आधारमा पहिलो प्राथमिकतामा ग्यास उपलब्ध गराइने निर्णय गरिएको छ। अग्रिम रूपमा नाम टिपिएका परिवारलाई क्रमअनुसार नियमित विक्रेतामार्फत ग्यास उपलब्ध गराइने र हालका लागि नयाँ सिलिन्डर बिक्री नगर्ने व्यवस्था गरिएको छ।


ग्यासको कालोबजारी तथा अनावश्यक भण्डारण रोक्न स्थानीय तहका वडा सदस्यलाई अनुगमनको जिम्मेवारी दिइएको छ भने ग्यास बिक्री स्थलको सुरक्षा व्यवस्था नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मिलाउने निर्णय गरिएको छ। बैठकमा सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button