प्रहार समाचार । ३ चैत २०८२, मङ्गलबार। सरकार गठनको प्रक्रिया ढिलाइ गर्न नहुने भन्दै राजनीतिक तथा जनस्तरबाट दबाब बढिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र देखिएको आन्तरिक अन्योलका कारण नयाँ सरकार गठन केही समय पछि सर्न सक्ने संकेत देखिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् बैठकमा ‘यो अन्तिम बैठक हुन सक्छ’ भन्दै संकेत गरेपछि सरकारी अधिकारीहरूले छिट्टै नयाँ सरकार बन्ने अनुमान गरेका थिए । आगामी एक साताभित्र बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार बन्न सक्ने अपेक्षा गरिएको थियो । तर रास्वपाले अझैसम्म बालेनलाई संसदीय दलको नेता चयन नगरेकाले प्रक्रिया केही ढिलिन सक्ने देखिएको हो ।

निर्वाचन आयोगले चैत ५ गते सम्पूर्ण निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ । प्रतिवेदन बुझाएपछि संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त दलको संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । त्यसका लागि रास्वपाले त्यसअघि नै बालेनलाई संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ ।पार्टीभित्र भने कार्यकाल बाँडफाँट र मन्त्री चयनको विषयमा फरक मत देखिएको छ । सभापति रवि लामिछाने निकट नेताहरू बालेन र रविबीच आधा–आधा कार्यकाल प्रधानमन्त्री हुने सहमति हुनुपर्ने पक्षमा छन् भने बालेन समर्थकहरू पाँच वर्ष नै बालेनले नेतृत्व गर्नुपर्ने अडानमा छन् । यस आन्तरिक रस्साकस्सीका कारण संसदीय दलको नेता चयनमा ढिलाइ भएको र त्यसको असर सरकार गठन प्रक्रियामा पर्न सक्ने देखिएको छ । विश्लेषकहरूका अनुसार वर्तमान परिस्थितिमा आन्तरिक विवादभन्दा स्थिर सरकार गठनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको छ ।


























