प्रहार समाचार । तनहुँ, २ चैत २०८२ सोमबार । बढ्दो वन डढेलो जोखिमलाई लक्षित गर्दै तनहुँमा ‘वन डढेलो व्यवस्थापन सप्ताह–२०८२’ सुरु गरिएको छ। डिभिजन वन कार्यालय तनहुँले बाघभञ्ज्याङ सामुदायिक वनबाट अभियानको औपचारिक सुरुवात गरेको हो।

सप्ताहको सुरुवात पछि आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले वन डढेलो नियन्त्रण केवल सरकारी संयन्त्रबाट मात्र सम्भव नहुने भन्दै समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए। उनले वन संरक्षण र डढेलो नियन्त्रणका काममा स्थानीय बासिन्दा, सामुदायिक वन उपभोक्ता समूह र सरोकारवालाको सहकार्य आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रममा डिभिजन वन कार्यालय तनहुँ का प्रमुख मनोज राणाभाट, सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मी, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी टेक बहादुर कार्की, जनप्रतिनिधिहरु लगायतलेले पछिल्ला वर्षहरूमा बढ्दै गएको वन डढेलोको जोखिम न्यूनीकरणका लागि सचेतना र पूर्वतयारी अत्यन्त महत्त्वपूर्ण रहेको बताए। उनिहरुले अभियानलाई सफल बनाउन स्थानीय तह, प्रदेश र संघीय सरकारसँगै समुदायको समन्वय अपरिहार्य रहेको उल्लेख गरे।

‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा वन डढेलो नियन्त्रणसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ। कार्यक्रमका क्रममा अग्निरेखा सरसफाइ, नियन्त्रित आगो व्यवस्थापन तथा डढेलो नियन्त्रणका व्यावहारिक उपायबारे प्रशिक्षणसमेत प्रदान गरिएको थियो। साथै बाघभञ्ज्याङ सामुदायिक वनलाई डढेलो नियन्त्रणका लागि आवश्यक सामग्रीसमेत हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ।
वन डढेलोको जोखिम बढ्ने मौसम सुरु भएसँगै यस्ता सचेतनामूलक कार्यक्रमले वन संरक्षण र विपद् न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


























