प्रहार समाचार । तनहुँ, २ चैत २०८२ सोमबार । ग्लोवल मनि विक २०२६ ( Global Money Week 2026 )को अवसरमा तनहुँको दमौलीमा छात्राहरूलाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ। ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड दमौली शाखाले व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयमा अध्ययनरत करिब १ सय ५० जना छात्रालाई पैसाको सही प्रयोग, बचत र वित्तीय व्यवस्थापनबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा बैंकका दमौली शाखा प्रबन्धक सुदिप न्यौपानेले सानै उमेरदेखि पैसाको महत्व बुझ्न आवश्यक रहेको उल्लेख गर्दै बचत गर्ने बानी, आम्दानीको सही व्यवस्थापन र भविष्यका लागि लगानी गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए। उनले बैंकिङ सेवा, बचत खाता, डिजिटल बैंकिङ तथा जिम्मेवार खर्च गर्ने तरिकाबारे विद्यार्थीहरूलाई व्यवहारिक जानकारी दिएका थिए।
कार्यक्रमका क्रममा विद्यार्थीहरूलाई आवश्यक र अनावश्यक खर्च छुट्याउने तरिका, सानो बचतले भविष्यमा ठूलो आधार बनाउन सक्ने महत्व तथा सुरक्षित वित्तीय निर्णय कसरी गर्ने भन्ने विषयमा उदाहरणसहित प्रशिक्षण दिइएको थियो। सहभागी छात्राहरूले पनि बैंकिङ सेवा र बचतसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए।

बालबालिका तथा युवालाई पैसाको सही प्रयोग, बचत, लगानी र वित्तीय निर्णयबारे सचेत बनाउन सन् २०१२ देखि विश्वभर मनाइँदै आएको ग्लोबल मनी विक यस वर्ष मार्च १६ देखि २२ सम्म विभिन्न कार्यक्रमसहित मनाइँदैछ। “Smart Money Talks” नारासहित सञ्चालन भइरहेको यस अभियानअन्तर्गत विद्यालयस्तरमै पुगेर वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले जनाएको छ।



























