प्रहार समाचार । तनहुँ, २ चैत २०८२ सोमवार । तनहुँको व्यास २ कयौलीमा रहेको दमौली मिनि मार्केटस्थित एक घरमा सञ्चालनमा रहेका दुई पसलमा सोमबार बिहान आगलागी भएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहान करिब ४:१० बजेतिर सोही स्थानका अर्जुन श्रेष्ठको घरमा सटर भाडामा लिएर सञ्चालन गरिएका लालबहादुर अन्सारीको टेलर पसल र भरत पराजुलीको फेन्सी पसलमा विद्युत् लाइन सर्ट भई आगलागी भएको हो। स्थानीयवासीले आगो लागेको जानकारी दिएपछि नेपाल प्रहरीको टोली तत्काल घटनास्थलमा पुगेको थियो।
प्रहरी, स्थानीयवासी र दमकलको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। आगलागी सुरु भएको करिब ४५ मिनेटपछि बिहान ४:५५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
घटनाबाट पसलमा रहेको सामानमा क्षति पुगेको अनुमान गरिएको भए पनि विस्तृत क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ। आगलागीको कारण विद्युत् लाइन सर्ट भएको प्रारम्भिक अनुमान गरिएको छ भने थप अनुसन्धान भइरहेको जनाइएको छ।


























