प्रहार समाचार । काठमाडौँ, २ चैत २०८२ सोमबार । राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखमा प्रधानमन्त्री सुशिला कार्की स्वकीय सचिव आदर्श श्रेष्ठलाई नियुक्त गरिएको विषयमा नवनिर्वाचित सांसद महाबिर पुनले कडा असन्तुष्टि जनाएका छन्। उनले उक्त नियुक्तिलाई स ए प्रतिशत गलत” निर्णय भन्दै नियुक्ति स्वीकार नगर्न श्रेष्ठलाई सार्वजनिक रूपमा आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पुनले राजनीतिक नियुक्तिमा बढ्दो नातावाद, चाकरीवाद र कृपावादप्रति चिन्ता व्यक्त गरे। यस्ता प्रवृत्तिका कारण विगतमा पुराना राजनीतिक दलहरू कमजोर बनेको स्मरण गराउँदै उनले अहिले पनि त्यही अभ्यास दोहोरिन थालेको संकेत देखिएको बताए।
पुनले विशेषगरी राज्यका महत्त्वपूर्ण संस्थामा क्षमता र योग्यताभन्दा नजिकका व्यक्तिलाई प्राथमिकता दिइने परिपाटीले संस्थागत सुशासनमा गम्भीर असर पर्ने उल्लेख गरे। उनले यस्ता निर्णयले राज्यप्रति नागरिकको विश्वास घट्ने चेतावनीसमेत दिएका छन्। सांसद पुनले यदि यस्तै प्रवृत्ति दोहोरिरह्यो भने नयाँ शक्तिका रूपमा उदाएका राजनीतिक धारहरू पनि संकटमा पर्न सक्ने बताएका छन्। उनले जिम्मेवार पदमा नियुक्ति गर्दा पारदर्शिता, योग्यता र नैतिकताको आधार अपनाउनुपर्नेमा जोड दिएका छन्।


























