प्रहार समाचार । तनहुँ, २ चैत २०८२ सोमबार । नेपाली कांग्रेस तनहुँका महाधिवेशन प्रतिनिधि एवं निवर्तमान कोषाध्यक्ष रेशम गुरुङले स्वर्गीय कल्याण खनालको हत्या सम्झिँदै गहिरो पीडा र आक्रोश व्यक्त गरेका छन्। परिवारसँगै खाना खाइरहेको बेला अचानक बन्दुक पड्किएको र चरा मरेझैँ आफ्ना साथी कल्याण खनाल ढलेको घटना सम्झँदा आज पनि मन दुख्ने उनले बताए।

गुरुङका अनुसार त्यो घटना केवल एक व्यक्तिको हत्या मात्र नभई एउटा परिवारमाथि परेको गहिरो चोट हो। “परिवारसँगै खाना खाँदै गर्दा ड्याङ बन्दुक पड्कियो, चरा मरेझैँ साथी कल्याण खनाल ढले,” उनले भने, “त्यो बेला परिवारलाई कस्तो भयो होला ? त्यो पीडा सोच्दा आज पनि मन चसक्क हुन्छ।” उनले खनाल परिवारले वर्षौँ बितिसक्दा पनि न्याय नपाएको भन्दै असन्तुष्टि जनाए। सहिद पत्नि इन्दिरा खनाल :

यसै सन्दर्भमा उनले नेपाली कांग्रेस तनहुँबाट समानुपातिक सांसद उम्मेदवारका रूपमा सिफारिस गरिएकी सहिद पत्नि इन्दिरा खनाल सूचीमा नपरेको विषयमा समेत प्रश्न उठाएका छन्। गुरुङले पार्टीले पीडित परिवारप्रति संवेदनशीलता देखाउनुपर्ने भन्दै किन इन्दिरा खनाल समानुपातिक सूचीमा परिनन् भन्नेबारे स्पष्ट जवाफ दिन माग गरेका छन्।
समानुपातिक सूची सार्वजनिक भएसँगै तनहुँ कांग्रेसभित्र असन्तुष्टिका आवाज सुनिन थालेका छन्। गुरुङको अभिव्यक्तिले जिल्लाको राजनीतिमा नयाँ बहस सुरु भएको छ भने पार्टीभित्र योगदान, न्याय र अवसरको विषयलाई लिएर प्रश्न उठ्न थालेका छन्।


























