प्रहार समाचार । २ चैत २०८२, सोमबार। जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदीय राजनीतिबाट सन्न्यास लिने घोषणा गरेका छन्। उनले व्यक्तिगत इच्छाविपरीत दुई पटक संसदीय निर्वाचन लडेको र अब भविष्यमा निर्वाचन नलड्ने बताएका हुन्।

यसपटक सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका राउत रास्वपाका रामजी यादवसँग पराजित भएका थिए।उनका अनुसार पार्टी र कार्यकर्ताको मनोबल कायम राख्न दबाबका कारण आफूले निर्वाचन लड्नुपरेको थियो। अघिल्लो निर्वाचनमा आफूले जित्दा जनमत पार्टी राष्ट्रिय पार्टी बन्न सफल भएको उनले स्मरण गरेका छन्।

उनले संसदीय राजनीतिबाट टाढा रहने निर्णय गरे पनि राजनीतिबाट भने अलग नहुने स्पष्ट पारेका छन्। राउतले पार्टीलाई मजबुत बनाउँदै आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारीमा लाग्ने बताएका छन्। साथै अधिकार, पहिचान र मधेसका मुद्दामा आफू निरन्तर सक्रिय रहने र जनताको सेवामा रहने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।


























