प्रहार समाचार । तनहुँ, २ चैत २०८२ सोमबार । तनहुँको व्यास नगरपालिका–१ स्थित सत्यवती माध्यमिक विद्यालयमा अध्ययनरत बालिकाहरूलाई लक्षित गरी सञ्चालन गरिएको बालिका शिक्षा कार्यक्रम अन्तर्गत चौथो सामूहिक मेन्टोरिङ सत्र सुरु भएको छ।

रूम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग तथा सूर्योदय क्लबको व्यवस्थापनमा आइतबार आयोजित कार्यक्रममा कक्षा ११ मा अध्ययनरत बालिकाहरूलाई “वित्तीय संस्था, बचतको ज्ञान र बचत योजना (स्थलगत भेटघाट)” विषयमा प्रशिक्षण तथा अन्तरक्रिया गरिएको हो।

कार्यक्रममा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड दमौली शाखाका प्रबन्धक सुदिप न्यौपानेले सहजीकरण गर्दै बालिकाहरूलाई वित्तीय साक्षरता, नियमित बचतको महत्व, बैंकिङ प्रणाली तथा व्यक्तिगत बचत योजना बनाउने तरिकाबारे जानकारी गराएका थिए।
मेन्टोरिङ सत्रमा सहभागी बालिकाहरूले बैंकिङ सेवा कसरी उपयोग गर्ने, भविष्यका लागि बचत कसरी गर्ने र आर्थिक रूपमा आत्मनिर्भर बन्ने आधारभूत ज्ञान प्राप्त गरेका थिए।
कार्यक्रम तीन चरणमा दुई दिनसम्म सञ्चालन गरिने र करिब १ सय ५० छात्राहरूको सहभागिता रहने ग्रीन डेभलपमेन्ट बैंकका कर्जा प्रमुख सुजन पन्थले जानकारी दिए।

बालिका शिक्षा कार्यक्रमका कार्यक्रम अधिकृत नित्यानन्द पाण्डे (रूम टु रिड) र कलावती बिमली (सूर्योदय युवा क्लब) कार्यक्रममा सामाजिक परिचालकहरू सुष्मा नागिला र सृजना रावतको समेत सहभागिता रहेको थियो।

बालिकाहरूलाई शिक्षा मात्र होइन, आर्थिक चेतना र जीवन उपयोगी सीप प्रदान गर्ने उद्देश्यले यस्तो सामूहिक मेन्टोरिङ कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।


























