दमौली । तनहुँको व्यास नगरपालिका–१२ छाब्दीमा रहेको छाब्दीदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको टोलीले नवलपरासीको गैंडाकोटमा रहेको विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न गरेको छ। अध्यक्ष गजेन्द्रराज पन्थको नेतृत्वमा पुगेको टोलीले सहकारी व्यवस्थापन, सेवा प्रवाह र संस्थागत विकासका अभ्यासबारे जानकारी लिएको हो।

गैंडाकोट नगरपालिका–८ विजयचोकमा रहेको विकू बचत तथा ऋण सहकारी संस्थाको अवलोकनका क्रममा आयोजित अन्तरक्रियामा संस्थाका व्यवसाय विकास अधिकृत हरिराम अम्बेले सहकारीको सेवा विस्तार, सदस्यमुखी कार्यक्रम र वित्तीय व्यवस्थापनका बारेमा जानकारी दिएका थिए। उनले सहकारी संस्थाहरूले सुशासन, पारदर्शिता र प्रविधिमैत्री सेवा अपनाए मात्रै दीर्घकालीन रूपमा सफल हुन सक्ने उल्लेख गरे।

कार्यक्रममा विकू बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाले संस्थाको स्थापना, विकास यात्रा र उपलब्धिबारे प्रस्तुति दिएका थिए। उनले सानो बचतबाट सुरु भएको अभियान अहिले ठूलो वित्तीय संस्थामा रूपान्तरण भएको उल्लेख गर्दै सहकारी क्षेत्रले समुदायको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताए।

विकू बचत तथा ऋण सहकारी संस्था एशियाली ऋण महासंघ (ACCU) को प्राविधिक सहयोग तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (NEFSCUN) द्वारा सञ्चालित उत्कृष्ट सेवा तथा सुरक्षाका लागि सर्वोत्तम छनोट (ACCESS) कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय स्तरको ब्रान्ड प्राप्त गर्न सफल संस्था हो।

संस्थाको स्थापना २०४८ साल भदौ ५ गते तत्कालीन विजय युवा क्लबको सक्रियतामा २६ जना सदस्य मिलेर गरिएको थियो। सुरुमा “विजय युवा क्लब क्रेडिट युनियन” नामबाट सञ्चालन भएको संस्था पछि छोटकरीमा विकू (VYCCU) नामले परिचित भएको हो। “बचत नै विकासको बीउ हो” भन्ने सोचका साथ सुरु गरिएको अभियानमा सुरुमा प्रति व्यक्ति दैनिक ५० पैसा अर्थात मासिक १५ रुपैयाँ बचत संकलन गरिएको थियो।
हाल विकू सहकारीमा एक लाख २९ हजार ९ सय ४० जना सदस्य आबद्ध रहेका छन्। जसमा ६६ हजार ५ सय १९ महिला, ६२ हजार ९ सय २४ पुरुष र १६ हजार ५ सय १६ बालबालिका सदस्य रहेका छन्। संस्थाले अर्बौँ रुपैयाँ बराबरको बचत संकलन र ऋण लगानी गर्दै आएको जनाएको छ।

अवलोकन भ्रमणका क्रममा छाब्दीदेवी बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष माधव पन्थले आफ्नो संस्थाको परिचय तथा वर्तमान अवस्थाबारे जानकारी गराएका थिए। उनले सहकारीलाई अझ व्यवस्थित, प्रविधिमैत्री र सदस्यकेन्द्रित बनाउन सफल सहकारीबाट सिक्ने उद्देश्यले अध्ययन भ्रमण आयोजना गरिएको बताए।

भ्रमण टोलीले विकू सहकारीको व्यवस्थापन प्रणाली, सदस्य सेवा, वित्तीय अनुशासन तथा संस्थागत सुदृढीकरणका अभ्यासबाट महत्वपूर्ण अनुभव हासिल गरेको जनाएको छ। सहकारीकर्मीहरूबीच अनुभव आदानप्रदानले दुवै संस्थालाई थप सशक्त बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।



























