प्रहार समाचार । तेहरान, १ चैत २०८२ आइतबार । मध्यपूर्वमा तनाव झनै चुलिँदै गएका बेला इरानले इजरायलका महत्त्वपूर्ण सुरक्षा संरचनामाथि ड्रोनमार्फत आक्रमण गरेको दाबी गरेको छ। आइतबार बिहान गरिएको भनिएको उक्त आक्रमण इजरायलको विशेष प्रहरी इकाइ लाहाभ ४३३ को मुख्यालय तथा रक्षा स्याटेलाइट सञ्चारसँग सम्बन्धित गिलाट उपग्रह सञ्चार केन्द्र लक्षित गरी गरिएको इरानी सेनाले जनाएको छ।

इरानी सेनाले जारी गरेको वक्तव्यमा शक्तिशाली ड्रोन प्रयोग गरेर रणनीतिक सुरक्षा पूर्वाधारमाथि प्रहार गरिएको उल्लेख गरिएको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार आक्रमणले इजरायलको सुरक्षा तथा सञ्चार संरचनामा प्रभाव पार्ने उद्देश्य राखिएको बताइएको छ। तर आक्रमण कति प्रभावकारी भयो भन्नेबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
उता इजरायली सेनाले ती स्थानमा आक्रमण भएको स्वीकार गरे पनि लक्षित संरचना कुन सहरमा रहेका थिए भन्ने स्पष्ट पारेको छैन। साथै, आक्रमणबाट भएको क्षति तथा सम्भावित प्रभावबारे पनि आधिकारिक विवरण बाहिर आएको छैन। पछिल्ला घटनाक्रमले इरान–इजरायलबीचको तनाव थप तीव्र बन्दै गएको संकेत दिएको विश्लेषकहरूले बताएका छन्।


























