प्रहार समाचार । १ चैत २०८२, आइतबार । नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फका २० जनाको नाम तय गरेर निर्वाचन आयोगमा पठाएको छ।फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फ २० सिट प्राप्त गरेको थियो।

आज सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति गगन थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिकतर्फका २० सिटका लागि १५ जना महिला र ५ जना पुरुषको नाम सिफारिस गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए। उनका अनुसार शेरबहादुर देउवा सभापति रहेका बेला निर्वाचन आयोगमा पठाइएको समानुपातिक सूचीबाटै अहिले २० जनाको नाम छनोट गरी सिफारिस गरिएको हो।

प्रवक्ता चालिसेले सिफारिस गरिएका नामहरूको विस्तृत विवरण निर्वाचन आयोगले पछि सार्वजनिक गर्ने बताए। चालिसेका अनुसार संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा) गरी कांग्रेसको कुल ६२ सिट प्रतिनिधित्व रहनेछ। संवैधानिक प्रावधानअनुसार कम्तीमा २१ सिटमा महिला प्रतिनिधित्व अनिवार्य भएकाले समानुपातिकतर्फ पठाइएका २० जनामध्ये १५ जना महिला राखिएको उनले स्पष्ट पारे। ‘यो निर्वाचन प्रक्रियाकै हिस्सा हो। नाम आजै आयोगमा पठाइनेछ। कुनै क्लस्टरमा तलमाथि भए सच्याइनेछ,’ उनले भने। यसअघि पठाइएको समानुपातिक सूचीमा फेरबदल गर्ने सुविधा भने उपलब्ध नहुने उनले बताए। साथै चुनावको समग्र समीक्षा गर्न यही साता केन्द्रीय समिति बैठक बस्ने तयारी रहेको पनि उनले जानकारी दिए।



























