प्रहार समाचार। चैत १ आइतबार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज भर्चुअल माध्यमबाट बस्ने भएको छ। यसअघि बैठक केन्द्रीय कार्यालय च:मतिमा बस्ने तय गरिएको थियो। बैठकमा सहभागी हुन उपसभापति डिपी अर्याल, प्रवक्ता मनिष झा, नेता सोबिता गौतम लगायत नेताहरू पार्टी कार्यालय पुगेका थिए। तर सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएपछि बैठक भर्चुअल रूपमा बस्ने निर्णय गरिएको हो। त्यसपछि कार्यालय पुगेका नेताहरू पनि फर्किन थालेका छन्।

कार्यालयमा उपस्थित सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता मनिष झाले सचिवालय बैठक भर्चुअल माध्यमबाट बस्ने जानकारी दिएका हुन्। बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फका उम्मेदवारहरूको अन्तिम सूची तय गर्ने विषयमा छलफल हुने जनाइएको छ। निर्वाचन आयोगले समानुपातिकतर्फ चयन हुने सांसदहरूको सूची बुझाउन आजसम्मको समयसीमा दिएको छ। त्यसैले सूची टुंग्याएर आयोगमा पठाउन सचिवालय बैठक बोलाइएको हो।

समानुपातिकतर्फ प्राप्त मतको आधारमा रास्वपाले ५७ सिट पाउने छ भने प्रत्यक्षतर्फ १२५ सिट जितेकाले प्रतिनिधिसभामा रास्वपाका कुल १८२ सांसद रहने भएका छन्।
























