प्रहार समाचार । तनहुँ, १ चैत २०८२ आइतबार । सुक्खायामसँगै देशभर वन डढेलोको जोखिम बढ्न थालेपछि सरकारले सचेतना र नियन्त्रणका कार्यक्रमलाई तीव्र बनाएको छ। ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नारासहित आजदेखि ‘वन डढेलो व्यवस्थापन सप्ताह–२०८२’ सुरु गरिएको छ। वन तथा वातावरण मन्त्रालयले वन डढेलो व्यवस्थापन रणनीति–२०६७ अनुसार प्रत्येक वर्ष चैत १ देखि ७ गतेसम्म यो सप्ताह मनाउँदै आएको हो।

सप्ताहका अवसरमा वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईँले वन क्षेत्रमा लाग्ने डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि अत्यन्त आवश्यक रहेको बताउनुभएको छ। उहाँले सबै डिभिजन वन कार्यालय, वन उपभोक्ता समूह, संरक्षण तथा विकास साझेदार संस्था तथा सम्बन्धित सरोकारवाला निकायलाई आ–आफ्नो कार्यक्षेत्रमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभएको मन्त्रालयले जनाएको छ।

यसैबीच ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ नारासहित तनहुँमा पनि अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। डिभिजन वन कार्यालय तनहुँको आयोजनामा व्यास नगरपालिका–४ स्थित बागभञ्ज्याङ सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा वन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया, अग्निरेखा सरसफाइ तथा नियन्त्रित आगो लगाउने (कन्ट्रोल बर्निङ) कार्यक्रम आइतबार सम्पन्न गरिएको हो।

वन तथा भूसंरक्षण विभागका महानिर्देशक धिरेन्द्रकुमार प्रधानका अनुसार डढेलोको घटना अहिले देशका सबै प्रदेशमा देखिन थालेको छ। विशेषगरी सुदूरपश्चिम, बागमती र कर्णाली प्रदेशमा जोखिम बढी रहेको उहाँले बताउनुभयो। फागुनदेखि जेठसम्म सुक्खायामका कारण डढेलो लाग्ने सम्भावना उच्च हुने भएकाले वन स्रोत, जैविक विविधता, वातावरणीय सन्तुलन र जनधनको सुरक्षाका लागि समयमै पूर्वतयारी, समन्वय र व्यापक जनचेतना आवश्यक रहेको विभागले जनाएको छ।
























