प्रहार समाचार । तनहुँ, १ चैत २०८२ आइतबार । सहकारी संस्थाहरूबीच अनुभव आदान–प्रदान गर्दै संस्थागत सुदृढीकरण गर्ने उद्देश्यसहित तनहुँको व्यास–१२ स्थित छाब्दीदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भ्रमण टोलीले भिमाद नगरपालिका–६ मा रहेको कामना बचत तथा ऋण सहकारी संस्थाको अवलोकन गरेको छ।

छाब्दीदेवी सहकारीका अध्यक्ष गजिन्द्रराज पन्थको नेतृत्वमा पुगेको टोलीले कामना सहकारीको व्यवस्थापन, सेवा प्रवाह, बचत तथा ऋण परिचालनलगायतका गतिविधिबारे जानकारी लिएको थियो।

भ्रमणका क्रममा दुवै संस्थाका पदाधिकारीबीच सहकारीको प्रभावकारी सञ्चालन, सदस्य हितका कार्यक्रम तथा पारदर्शी व्यवस्थापनबारे छलफल समेत गरिएको थियो।

कार्यक्रममा कामना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोपाल पराजुलीले सहकारीहरूबीचको यस्तो अवलोकन भ्रमणले अनुभव आदान–प्रदान मात्र नभई संस्थागत क्षमता अभिवृद्धिमा टेवा पुग्ने उल्लेख गरे।

संस्थाका सल्लाहकार खिमाकान्त पराजुली , लेखा सुपरिवेक्षण समितिका संयोजक राजु परियार त्यस्तै संस्थाका सचिव महेन्द्रराज सुवेदीले सहकारी अभियानलाई अझ सुदृढ बनाउन पारस्परिक सिकाइ र सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रममा कामना सहकारीका उपाध्यक्ष टुकामणि सिग्देलसहित दुवै संस्थाका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। सहभागीहरूले सहकारीहरूबीच सहकार्य र सिकाइको संस्कृति विस्तार हुँदै गए सहकारी क्षेत्र अझ बलियो बन्ने विश्वास व्यक्त गरेका थिए।




























