हेडलाईनसमाचारसबै प्रदेश

ओलीलाई उनकै क्षेत्रबाट हराएका बालेनको समवेदना : ‘पिताजस्तो रक्षक कोही हुँदैन’

प्रहार समादार । काठमाडौं, २९ फागुन २०८२ शुक्रबार । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य बालेन शाहले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री के पी शर्मा ओलीलाई परेको पितृशोकप्रति समवेदना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले पिताको महत्त्व स्मरण गर्दै ओलीप्रति ढाडस व्यक्त गरेका हुन्।


संस्कृत श्लोक उद्धृत गर्दै शाहले “नास्ति पितृसमं त्राता, नास्ति पितृसमो गुरुः, नास्ति पितृसमं दैवं” भन्दै पितालाई जीवनको सबैभन्दा ठूलो संरक्षक, गुरु र देवता बताएका छन्। “पात्र एक, भूमिका अनेक,” भन्दै उनले पिताले जीवनमा निभाउने अनेक भूमिकाको चर्चा गर्दै पिताको अनुपस्थितिले जीवनमा गहिरो रित्तोपन र अपूरणीय अभाव ल्याउने उल्लेख गरेका छन्। केही समयअघि आफूले पनि पिता गुमाएकाले त्यो पीडाको अनुभूति राम्रोसँग बुझ्ने उनले बताएका छन्।


काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर सक्रिय राष्ट्रिय राजनीतिमा प्रवेश गरेका शाह हाल प्रतिनिधिसभा सदस्य हुन्। उनले झापा क्षेत्रबाट भएको निर्वाचनमा एमाले अध्यक्ष ओलीलाई नै पराजित गर्दै अत्याधिक मतान्तरसहित विजयी भएका थिए। राजनीतिक प्रतिस्पर्धाका बाबजुद उनले ओलीलाई परेको पारिवारिक शोकमा समवेदना व्यक्त गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।


ओलीका पिताको निधनपछि विभिन्न राजनीतिक दलका नेता तथा सार्वजनिक व्यक्तित्वहरूले समवेदना व्यक्त गर्ने क्रम जारी छ। यसबीच राजनीतिक प्रतिस्पर्धी मानिएका शाहबाट आएको भावुक सन्देशले मानवीय सम्बन्ध र संवेदनशीलताको उदाहरण प्रस्तुत गरेको टिप्पणी समेत सामाजिक सञ्जालमा देखिन थालेको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button