• चेतना नहर्की / प्रहार समाचार । काठमाडौँ, २९ फागुन २०८२ शुक्रबार । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा पद्मकन्या बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियन द्वारा प्रदशन गरिएको छ।

आज माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले उक्त जघन्य अपराधका दोषीमाथि कडा कानुनी कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कठोर सजाय दिन सरकारलाई दबाब दिएका हुन्। स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष भूपी ऐरले बलात्कार जस्तो जघन्य अपराधका घटनामा दोषीलाई कडा सजाय सुनिश्चित गर्न आवश्यक परे कानुनमै संशोधन गर्नुपर्ने बताइन्।

उनले हत्या, बलात्कारजस्ता गम्भीर अपराध फेरि दोहोरिन नदिन राज्यले कडा नीति र कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याइन्। यस्ता घटनामा जिम्मेवार निकायहरूले नै कतिपय अवस्थामा दोषीलाई संरक्षण गर्ने प्रयास हुने गरेको आशंका व्यक्त गर्दै त्यसप्रति आक्रोश समेत जनाइन्। उनले भनिन्, “सुर्खेतमा घटेको यो बलात्कार तथा हत्या अत्यन्तै दुःखद र दयनीय घटना हो। यस्ता घटना पटक–पटक भइरहँदा अपराधीहरू झन् उत्साहित भइरहेका हुन् कि भन्ने चिन्ता बढेको छ। त्यसैले यस्ता जघन्य अपराध ढाकछोप गर्ने प्रवृत्तिलाई अन्त्य गर्न राज्यले नीतिगत सुधार गर्नुपर्छ।” प्रदर्शनमा सहभागीहरूले “इनिसालाई न्याय देऊ”, “बालिकामाथि हुने बलात्कार, हिंसा र हत्या बन्द गर” लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकारले अझ कडा कानुनी व्यवस्था लागू गर्नुपर्ने माग समेत गरेका छन्।



























