प्रहार समाचार । तनहुँ, २८ फागुन २०८२ बिहीबार । हराउँदै गइरहेका रैथाने खानाका परिकारको संरक्षण र नयाँ पुस्तामा परम्परागत पाककला हस्तान्तरण गर्ने उद्देश्यले तनहुँको शुक्लागण्डकी नगरपालिकामा दुई दिने आदिवासी जनजाति रैथाने खाना महोत्सव आयोजना हुने भएको छ।

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् शुक्लागण्डकीको आयोजनामा चैत २ र ३ गते शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खेलमैदानमा महोत्सव सञ्चालन गरिने आयोजकले जनाएको छ।
महोत्सवमा शुक्लागण्डकी क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति समुदायका मौलिक घरहरूको नमुना निर्माण गरी त्यहीँ परम्परागत शैलीमा रैथाने खाना पकाएर आगन्तुकलाई स्वाद चखाइने कार्यक्रम रहेको आयोजक समितिका अध्यक्ष कूलकुमार कुमालले बताए। महोत्सवमा विभिन्न जातीय समुदायका सांस्कृतिक झाँकी, लोकगीत तथा नृत्य प्रस्तुति पनि रहनेछन्।
साथै भाषा, संस्कार र संस्कृतिको संरक्षणबारे अन्तरक्रिया कार्यक्रमसमेत सञ्चालन गरिनेछ। महोत्सवका सल्लाहकार खिमबहादुर कुमालका अनुसार आदिवासी जनजाति समुदायका परम्परागत परिकार स्वास्थ्यका दृष्टिले समेत उपयोगी छन् र तिनको प्रचारप्रसारले स्थानीय उत्पादन तथा व्यवसायिक खेतीलाई समेत प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

महोत्सवमा मगर, गुरुङ, नेवार, कुमाल, भुजेल र तामाङ समुदायका मौलिक परिकार एकै स्थानमा चख्न पाइनेछ। प्रवक्ता बिर्सना श्रेष्ठका अनुसार बटुक, बारा, सेलरोटी, चटामारी, गिठ्ठा, भ्याकुर, फुरौला, योमरी लगायतका परिकारसँगै लोकल रक्सी, माछा तथा मासुका विभिन्न परिकारको प्रदर्शन तथा बिक्री गरिनेछ। शुक्लागण्डकी नगरपालिकाको आर्थिक सहयोगमा आयोजना हुने महोत्सवको सह–आयोजकमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघसहित विभिन्न जातीय समुदायका नगर समितिहरू रहेका छन्।

























