Uncategorized

मध्यपूर्वको तनावबीच इन्धन र ग्यासको प्रयोग संयमित गर्न आयल निगमको आग्रह

प्रहार समाचार । विराटनगर, २८ फागुन २०८२ बिहीबार । नेपाल आयल निगमले मध्यपूर्व क्षेत्रमा देखिएको पछिल्लो तनावपूर्ण अवस्थालाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थ तथा ग्यासको प्रयोग आवश्यकताअनुसार मात्र गर्न उपभोक्तालाई आग्रह गरेको छ।निगमले बुधबार जारी गरेको सूचनामा हाल देशभर पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री–वितरण सामान्य अवस्थामा रहेको जनाएको छ।

तथापि नेपाल पूर्ण रूपमा पेट्रोलियम पदार्थको आयातमा निर्भर रहेको र मध्यपूर्व क्षेत्रको अस्थिर परिस्थितिले अन्तर्राष्ट्रिय बजारमा असर पार्न सक्ने सम्भावना रहेको भन्दै पूर्वसतर्कता अपनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।निगमका अनुसार केही देशहरूले पेट्रोलियम पदार्थको बिक्री–वितरण तथा प्रयोगमा नियन्त्रणात्मक उपायहरू अवलम्बन गर्न थालेका छन्। त्यसको सम्भावित प्रभाव नेपालमा पनि पर्न सक्ने भएकाले इन्धन तथा ग्यासको प्रयोगमा संयमता अपनाउनुपर्ने देखिएको हो।

यस सन्दर्भमा निगमले उपभोक्तालाई आवश्यक मात्रामा मात्रै पेट्रोलियम पदार्थ तथा ग्यास प्रयोग गर्न, एक सिलिन्डरले काम चल्ने अवस्थामा अर्को सिलिन्डर भर्न नलगाउन र अनावश्यक रूपमा इन्धन भण्डारण नगर्न आग्रह गरेको छ। साथै सम्भव भएसम्म ग्यासको सट्टा विद्युत प्रयोग बढाउन, सवारी साधनमा साझा यात्रा (राइड सेयरिङ) अपनाउन तथा विद्युत उपलब्ध हुँदा जेनेरेटर प्रयोग नगर्न पनि सुझाव दिएको छ।त्यसैगरी औद्योगिक क्षेत्रमा पनि पेट्रोलियम पदार्थ र ग्यासको प्रयोग सकेसम्म न्यून गर्न र आपूर्ति व्यवस्थापनमा सहयोग पुर्‍याउन उद्योगी–व्यवसायीलाई निगमले अनुरोध गरेको छ।यसैबीच कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यले पेट्रोलियम पदार्थ वा ग्यास भण्डारण गर्ने, बढी मूल्यमा बिक्री गर्ने वा नयाँ सिलिन्डर अनधिकृत रूपमा बजारमा ल्याउने कार्य गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने निगमले चेतावनी दिएको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button