प्रहार समाचार । विराटनगर, २८ फागुन २०८२ बिहीबार । उदयपुरको निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको तथ्य सार्वजनिक भएपछि नयाँ विवाद सुरु भएको छ।

निर्वाचन परिणाम सार्वजनिक भइसकेपछि बाहिर आएको विवरणले तामाङको आर्थिक पृष्ठभूमिबारे प्रश्न उठाएको हो।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार तामाङ १४ हजार ८०२ मत प्राप्त गर्दै विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार अम्बरबहादुर रायमाझीले ७ हजार ६४८ मत पाएका थिए भने नेपाली कांग्रेसका उम्मेदवार रामकुमार राईले ७ हजार २९० मत प्राप्त गरेका थिए।
अप्रत्याशित जितपछि तामाङको आर्थिक पृष्ठभूमिसम्बन्धी तथ्य सार्वजनिक भएको हो। कर्जा सूचना केन्द्रका अनुसार तामाङ संलग्न रहेको मकालु कान्जिरुवा अटो लिंक प्रालि नामक कम्पनी चेक बाउन्सका कारण कालो सूचीमा परेको छ।
केन्द्रको अभिलेखअनुसार उक्त कम्पनी कालो सूची नम्बर १,०१,५१४ मा राखिएको छ। कम्पनीका सञ्चालकका रूपमा लीला राई र सूर्यबहादुर तामाङको नाम उल्लेख गरिएको छ।
कर्जा सूचना केन्द्रका अनुसार २०८० माघ २५ गते माछापुछ्रे बैंकको खाताबाट काटिएको २ लाख ५५ हजार रुपैयाँको चेक नसाटिएपछि कम्पनी र सञ्चालक कालो सूचीमा परेका थिए।
यसअघि पनि कम्पनीबाट काटिएका विभिन्न चेक नसाटिएका विवरण सार्वजनिक भएका छन्।
२०७९ फागुन १५ गते इस्टन एजेन्सिसको नाममा काटिएको १ करोड ५५ लाख रुपैयाँको चेक नसाटिएपछि कम्पनी र सञ्चालकलाई कालो सूची नम्बर ५७,८२३ अन्तर्गत राखिएको थियो।
त्यस्तै २०८० भदौ ५ गते सुरेश श्रेष्ठको नाममा काटिएको २२ लाख ५० हजार रुपैयाँको चेक पनि नसाटिएको देखिन्छ।
प्रेमकुमार श्रेष्ठको नाममा काटिएको १३ लाख ५५ हजार रुपैयाँको अर्को चेक पनि बाउन्स भएपछि २०८० भदौ ६ गते कम्पनी र सञ्चालक पुनः कालो सूचीमा परेका थिए।
कर्जा सूचना केन्द्रको अभिलेख अनुसार तामाङको नाम २०७९ कात्तिक २५ गते पनि चेक बाउन्स प्रकरणका कारण कालो सूची नम्बर ४८,४१० मा राखिएको थियो।

यसरी विभिन्न मितिमा पटकपटक चेक नसाटिने घटना भएपछि कम्पनी र सञ्चालक दुवैलाई कालो सूचीमा राखिएको केन्द्रको विवरणमा उल्लेख छ। रास्वपाका उदयपुर स्रोतका अनुसार तामाङको व्यवसायमा पछिल्ला वर्षहरूमा आर्थिक समस्या देखिएकाले यस्तो अवस्था आएको हुन सक्ने बताइन्छ। स्रोतका अनुसार तामाङ कालो सूचीमा रहेको विषय पार्टीभित्र केही नेताहरूलाई उम्मेदवारी अघि नै थाहा भएको थियो। उम्मेदवारी दर्ताको समयमा पनि यस विषयमा पार्टीभित्र छलफल भएको बताइन्छ। तर अन्तिम समयमा उम्मेदवारी दर्ता गरिएको र कसैले औपचारिक उजुरी नदिएका कारण यो विषय निर्वाचन प्रक्रियामा प्रवेश गर्न सकेन।
“मनोनयनका बेला पार्टीभित्र कुरा उठेको थियो। तर अन्तिममा मनोनयन भयो। औपचारिक उजुरी नआएकाले निर्वाचन प्रक्रियामा असर परेन,” रास्वपा स्रोतले जनाएको छ। नवनिर्वाचित सांसद तामाङले भने आफू कालो सूचीमा रहेको विषयबारे जानकारी नभएको बताएका छन्। उनले व्यक्तिगत बैंक खाता खोलेर निर्वाचन खर्च गरेको दाबी गर्दै आफूविरुद्ध भ्रम फैलाइएको बताएका छन्।
“यदि म कालो सूचीमा भएको भए बैंक खाता खोल्न पाउनु पर्ने थिएन,” तामाङले भने, “मैले व्यक्तिगत खाता खोलेर चुनावी खर्च गरेको छु। अहिले जितिसकेपछि कालो सूचीको कुरा उठाएर भ्रम फैलाउने काम भइरहेको छ।”
जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख दीपक दाहालले तामाङले उम्मेदवारका रूपमा बैंक खाता खोल्न सिफारिस लिएको पुष्टि गरेका छन्। तर खाता खुलेको वा नखुलेको विषय भने आफूलाई जानकारी नभएको उनले बताए। निर्वाचन आयोगका अधिकारीहरूका अनुसार निर्वाचन परिणाम घोषणा भइसकेपछि उम्मेदवारको आर्थिक पृष्ठभूमिका आधारमा आयोगले कारबाही गर्न सक्दैन। कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालका अनुसार यस विषयमा आपत्ति भए सम्बन्धित पक्ष अदालत जान सक्ने कानुनी व्यवस्था छ।
यसअघि धनुषा क्षेत्र नम्बर–१ मा कालो सूचीमा रहेका कारण रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी नै खारेज भएको घटना पनि भएको थियो। एकातिर कालो सूचीका कारण उम्मेदवारी खारेज भएको उदाहरण छ भने अर्कोतर्फ कालो सूचीमा नाम रहेका व्यक्तिको निर्वाचन जितले नेपालको निर्वाचन प्रणाली, उम्मेदवार छनोट प्रक्रिया र राजनीतिक दलहरूको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको छ। तामाङको विषयमा अब के हुन्छ ? गम्भिर प्रश्न उठेको छ। स्रोत : अन्नपूर्ण पोस्ट

























