प्रहार समाचार । तनहुँ, २५ फागुन २०८२ सोमबार । तनहुँमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले जिल्लाको राजनीतिक तस्बिर नै फेरिएको संकेत दिएको छ। दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र दुबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले फराकिलो मतान्तरका साथ विजय हाँसिल गरेका छन्। निर्माचनमा उत्रिएका २२ जना उम्मेदवारको जमानत जफत भएको छ। जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार क्षेत्र नम्बर १ मा १४ जना र क्षेत्र नम्बर २ मा आठ जना उम्मेदवारले आवश्यक मत ल्याउन नसक्दा जमानत गुमाएका हुन्।

तनहुँ क्षेत्र नम्बर १ मा १६ उम्मेदवार प्रतिस्पर्धामा थिए। तर अधिकांश उम्मेदवारले सदर मतको १० प्रतिशत पनि कटाउन सकेनन्। यस क्षेत्रमा रास्वपाका डा. स्वर्णिम वाग्ले भारी मतसहित विजयी भए। उनले ३८ हजार ४० मत प्राप्त गर्दा नेपाली कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ मत पाए। एमालेकी उम्मेदवार भगवती न्यौपानेले पाँच हजार ८३० मत ल्याए पनि आवश्यक मत नपुग्दा जमानत जोगाउन सकेनन्। यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी १४ जना उम्मेदवारको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ।
त्यस्तै तनहुँ क्षेत्र नम्बर २ मा पनि रास्वपाको प्रभाव स्पष्ट देखियो। यहाँ रास्वपाका श्रीराम न्यौपाने ३२ हजार ६८७ मत ल्याउँदै विजयी भए। उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका शङ्कर भण्डारीले १४ हजार १३५ मत र एमालेका केदार सिग्देलले ११ हजार ६६८ मत प्राप्त गरे। यी दुई उम्मेदवारले जमानत जोगाए पनि अन्य आठ जना उम्मेदवार भने आवश्यक मत कटाउन नसक्दा जमानत जफत भएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए।
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा १० हजार रुपैयाँ धरौटी बुझाउनुपर्छ। महिला, दलित, अल्पसंख्यक वा आर्थिक रूपमा विपन्न उम्मेदवारलाई उक्त रकममा ५० प्रतिशत छुटको व्यवस्था छ। तर निर्वाचन क्षेत्रमा खसेको सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारले धरौटी रकम फिर्ता पाउँदैनन्। यसैलाई ‘जमानत जफत’ भनिन्छ। तनहुँमा देखिएको परिणामले भने रास्वपाको बढ्दो प्रभावसँगै साना दल र कमजोर उम्मेदवारलाई मतदाताले अस्वीकार गरेको स्पष्ट संकेत दिएको विश्लेषण गरिएको छ।

























