समाचार

जेनजी प्रदर्शन गोलीकाण्डमा ठूलो सिफारिस : ओली, गृहमन्त्री,आईजीपी र सिडियो विरुद्ध फौजदारी मुद्दा चलाउन आयोगको राय

प्रहार समाचार । काठमाडौँ, २५ फागुन २०८२ सोमबार । भदौ २३ र २४ मा काठमाडौँमा भएको जेनजी प्रदर्शनका क्रममा भएको गोलीकाण्ड र हिंसात्मक घटनाबारे छानबिन गर्न गठित आयोगले ठूला राजनीतिक र सुरक्षा अधिकारीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको छ।

पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आइतबार प्रतिवेदन बुझाउँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल विरुद्ध फौजदारी कानुन अनुसार मुद्दा चलाउन सिफारिस गरेको हो।
आयोगले घटनाका बेला प्रहरी नेतृत्वमा रहेका तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ लाई पनि अनुसन्धान गरी अभियोजन गर्नुपर्ने स्पष्ट राय दिएको छ। आयोगको निष्कर्ष अनुसार काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गरेको र गोली चलाउँदा किशोरहरूको ज्यान गएको घटना गम्भीर लापरबाहीको परिणाम भएको उल्लेख गरिएको छ।

प्रतिवेदनमा फिल्डमा खटिएका प्रहरी अधिकृतहरूको बयानसमेत उल्लेख गर्दै लेथल हतियार प्रयोग गरेर बल प्रयोग गर्ने आदेश आईजीपी स्तरबाट आएको दाबी गरिएको छ। यही कारण प्रदर्शन नियन्त्रणका क्रममा आवश्यकभन्दा बढी बल प्रयोग भएको र त्यसले स्थिति थप तनावपूर्ण बनेको आयोगको ठहर छ।
आयोगले अघिल्लो दिन भएको अत्यधिक बल प्रयोगले प्रदर्शनकारीहरू झन् आक्रोशित बनेको र त्यसको भोलिपल्ट काठमाडौँका विभिन्न क्षेत्रमा तोडफोड तथा उच्छृङ्खल गतिविधि भएको विश्लेषण पनि गरेको छ। आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै अब उच्च तहका राजनीतिक र सुरक्षा अधिकारीमाथि कानुनी प्रक्रिया अघि बढाउने विषयमा सरकारमाथि दबाब बढ्ने देखिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button