प्रहार समाचार । काठमाडौं, २५ फागुन २०८२ सोमबार । नेपालको राजनीतिक माहोल तातिँदै जाँदा सेयर बजारमा पनि असाधारण उत्साह देखिएको छ। राजनीतिक परिवर्तनको सम्भावना र राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा देखिएको बलियो जन लहरसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ऐतिहासिक उछाल देखिएको हो। तस्बिर : प्रहार अनलाईन मिडिया

बजार खुलेको केही मिनेटमै नेप्से सूचक ४ प्रतिशतले बढेपछि नियमअनुसार कारोबार २० मिनेटका लागि रोकिएको थियो। त्यसपछि पुनः खुलेको बजारमा सूचक थप १ प्रतिशतले बढेपछि फेरि ४० मिनेटका लागि कारोबार स्थगित गरियो।
४० मिनेटपछि बजार पुनः खुलेपछि पनि उकालो यात्रा रोकिएन। सूचक फेरि १ प्रतिशतले बढ्दै कुल १ सय ६२ दशमलव ६३ अंकले उकालो लागेर २ हजार ८ सय ७५ दशमलव ४३ बिन्दुमा पुगेको छ। यससँगै नेप्से आज ६ प्रतिशतको पोजिटिभ सर्किटमा बन्द भएको छ।
यद्यपि बजारमा कारोबार रकम भने अपेक्षाकृत कम देखिएको छ। आज कुल ५५ करोड ५९ लाख ६३ हजार ८९४ रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ। बजार पटक–पटक सर्किटमा बन्द हुँदा धेरै लगानीकर्ताले सेयर किनबेच गर्ने अवसर नै नपाएको अवस्था देखिएको हो।

विश्लेषकहरूका अनुसार राजनीतिक परिवर्तनको सम्भावना र “अबकी बार बालेन सरकार” भन्ने नारा सहितको चर्चाले लगानीकर्तामा सकारात्मक मनोभाव बढाएको छ। यही उत्साहका कारण लामो समयपछि नेप्सेमा यस्तो बलियो पोजिटिभ सर्किट देखिएको बताइएको छ।



























