• विजय अधिकारी ( संवाददाता ) लमजुङ, २४ फगुन २०८२ आइतबार । लमजुङ प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्मराज केसी लोकप्रिय मतसहित विजयी भएका छन्। शनिबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार उनले ३३ हजार ८ सय ९८ मत प्राप्त गर्दै स्पष्ट जित हात पारेका हुन्।

केसीले नेकपा (एमाले) का उम्मेदवार तथा पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई १७ हजार २२ मतको फराकिलो अन्तरले पराजित गरेका छन्। गुरुङले १६ हजार ८ सय ७६ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङले १६ हजार ५ सय ९६ मत ल्याएका छन् भने नेपाल कम्युनिस्ट पार्टीका हरिजङ्ग तामाङले ३ हजार ३ सय ७१ मत प्राप्त गरेका छन्।

मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार लमजुङमा कुल ७५ हजार ४ सय ६० मत खसेको थियो। यस निर्वाचनमा एक स्वतन्त्रसहित १२ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। अन्य उम्मेदवारमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका केविन्द्रजङ्ग गुरुङले १ हजार मत, श्रम संस्कृति पार्टीका कोषणलाल गुरुङले ५ सय ६५, मङ्गोल नेसनल अर्गनाइजेसनका विकास गुरुङले ३ सय ५१ मत प्राप्त गरेका छन्।

यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का रवीन्द्र नखौलाले १ सय ४४, स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरेले १ सय ३०, जनादेश पार्टी नेपालका मिलन बास्कोटाले ५३, नेसनल रिपब्लिकन पार्टीका भरत गुरुङले ४१ तथा नेपाल मजदुर किसान पार्टीकी गुह्येश्वरी प्रजापति महुजुले १२ मत प्राप्त गरेका छन्।
लमजुङमा परम्परागत रूपमा नेपाली कांग्रेस र नेकपा (एमाले) को प्रभाव बलियो मानिँदै आएको थियो। तर यसपटक देशभर देखिएको नयाँ शक्तिप्रतिको आकर्षणका कारण धर्मराज केसीले दुवै ठूला दललाई पछि पार्दै जित निकालेका हुन्।



























