‘लोकतन्त्रको सुन्दर पक्ष भनेको नियमित निर्वाचन हो। जनताले प्रत्येक निर्वाचनमार्फत आफ्नो निर्णय पुनः व्यक्त गर्ने अवसर पाउँछन्। यस प्रक्रियामा हार र जित दुवै स्वाभाविक हुन्छन्। लोकतान्त्रिक अभ्यासमा जनताले आफ्नो मतमार्फत कसलाई जिम्मेवारी दिने भन्ने निर्णय गर्छन्। त्यसैले जित्नेहरूले अत्यधिक उत्साहित हुँदै अन्य दललाई गाली गर्ने वा तुच्छ बोल्ने आवश्यकता हुँदैन ।’ भन्दै सनम तमाङ लेख्छन् :

निर्वाचन लोकतन्त्रको एउटा महत्वपूर्ण र प्राविधिक प्रक्रिया हो। यस प्रक्रियामा हार र जित दुवै स्वाभाविक हुन्छन्। लोकतान्त्रिक अभ्यासमा जनताले आफ्नो मतमार्फत कसलाई जिम्मेवारी दिने भन्ने निर्णय गर्छन्। त्यसैले जित्नेहरूले अत्यधिक उत्साहित हुँदै अन्य दललाई गाली गर्ने वा तुच्छ बोल्ने आवश्यकता हुँदैन भने हार्नेहरूले पनि निराश भएर बस्नुपर्ने अवस्था छैन् ।

लोकतन्त्रमा जनताको निर्णय नै अन्तिम हुन्छ, जसलाई सबैले सम्मान गर्नुपर्छ। यसपटकको निर्वाचन परिणामलाई लिएर केही भ्रम पनि देखिन थालेका छन्। अहिले प्राप्त भएको मतलाई स्थायी समर्थन ठानेर सबै मतदातालाई आफ्नो कार्यकर्ता ठान्नु उचित हुँदैन। धेरै हदसम्म यो परिणाम पुराना दलप्रतिको जनताको असन्तुष्टि र वितृष्णाको अभिव्यक्ति पनि हो। जनताले नयाँ विकल्पलाई अवसर दिएका हुन्, जसलाई सही रूपमा बुझ्न जरुरी छ।
इतिहासले पनि यस्तै उदाहरण देखाइसकेको छ। विसं २०६४ सालको संविधानसभा निर्वाचनमा जनताले माओवादीलाई अत्यधिक समर्थन दिएका थिए। तर जनताको म्यान्डेटअनुसार काम गर्न नसक्दा त्यो समर्थन लामो समय टिक्न सकेन। त्यसैले आज जनताको विश्वास पाएका नयाँ शक्तिहरूले पनि जिम्मेवारीपूर्वक काम गर्न सकेनन् भने भविष्यमा त्यस्तै परिस्थिति दोहोरिन सक्ने सम्भावना रहन्छ।
लोकतन्त्रको सुन्दर पक्ष भनेको नियमित निर्वाचन हो। जनताले प्रत्येक निर्वाचनमार्फत आफ्नो निर्णय पुनः व्यक्त गर्ने अवसर पाउँछन्। त्यसैले पुराना दलहरूले पनि आफ्नो कमी–कमजोरी सुधार गर्दै रचनात्मक रूपमा सरकारको खबरदारी गर्दै अघि बढ्नुपर्छ। पाँच वर्ष सरकार बाहिर बसेर जनताको पक्षमा काम गर्न सके आगामी निर्वाचनमा फेरि राम्रो जनमत प्राप्त गर्न सकिन्छ।
अन्ततः लोकतन्त्रमा स्थायी जित वा स्थायी हार भन्ने हुँदैन। जनताको विश्वास जित्ने दल नै सफल हुन्छ। त्यसैले सबै राजनीतिक दलले जनताको अपेक्षा, विश्वास र म्यान्डेटलाई केन्द्रमा राखेर काम गर्नु नै लोकतान्त्रिक प्रणालीको वास्तविक सम्मान हो।
तनहुँ । २३ फागुन २०८२ ।



























