प्रहार समाचा । मुस्ताङ, २२ फागुन २०८२ शुक्रबार । मुस्ताङ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन विजयी भएका छन् । उनले नेकपा (एमाले) का उम्मेदवार इन्द्रधारा विष्ट लाई १ हजार ५०१ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । गौचनले ३ हजार ३०७ मत प्राप्त गर्दा विष्टले १ हजार ८०६ मत ल्याएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अद्वितीय चन्द्र थकाली ले ७५९ मत प्राप्त गरेका छन् भने अन्य दलका उम्मेदवारहरू निकै कम मतमा सीमित भएका छन् । यस जितसँगै मुस्ताङमा नेपाली कांग्रेसको उपस्थिति थप बलियो बनेको छ ।
यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि मुस्ताङबाट योगेश गौचन नै विजयी भएका थिए । थासाङ गाउँपालिका–लेतेका बासिन्दा गौचनले बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका छन् र पर्यटन तथा होटल व्यवसायमा समेत संलग्न छन् । उनी नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा हुन् । मतगणना सम्पन्न भएपछि निर्वाचन अधिकृतले गौचनलाई औपचारिक रूपमा विजयी घोषणा गरेका हुन् ।



























