प्रहार समाचार । काठमाडौं, २२ फागुन २०८२ शुक्रबार । हिंजो भएको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जित हासिल गरेको छ। रास्वपाकी उम्मेदवार रञ्जु न्यौपाने १५ हजार ४ सय ५५ मत प्राप्त गर्दै विजयी भएकी हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापालाई फराकिलो मतान्तरले पराजित गरिन्।

अन्तिम मतपरिणामअनुसार प्रबल थापाले ६ हजार ३ सय ६४ मत प्राप्त गरेका छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र मिश्रले ३ हजार ९ सय ७२ मत ल्याएका छन्। काठमाडौंको महत्वपूर्ण निर्वाचन क्षेत्र मानिने काठमाडौं–१ मा रास्वपाले सुरुदेखि नै अग्रता कायम राख्दै अन्ततः जित सुनिश्चित गरेको हो।
यस परिणामसँगै रास्वपाले प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पहिलो सिट सुरक्षित गरेको छ। काठमाडौं–१ को नतिजालाई मतदाताले नयाँ राजनीतिक शक्तिप्रति देखाएको भरोसाको संकेतका रूपमा विश्लेषण गर्न थालिएको छ। यद्यपी निर्वाचन आयोगले न्यौपानेको विजयलाई आधिकारिकता दिन भने बाँकी रहेको छ ।



























