प्रहार समाचार । धनगढी,२१ फागुन २०८२ — विकास निर्माण र प्रशासनिक सुगमताको माग पूरा नभएको भन्दै दार्चुलाका दुई मतदान केन्द्रमा स्थानीय मतदाताले आज भएको प्रतिनिधिसभा निर्वाचन पूर्ण रूपमा बहिष्कार गरेका छन्। दिनभर मतदान केन्द्र खुला रहे पनि मतदाताहरू उपस्थित नभएपछि कर्मचारीहरू रित्तो मतपेटिका लिएर फर्किनुपरेको छ।

जिल्लाको नौगाड गाउँपालिका–१ स्थित गौरीशङ्कर माध्यमिक विद्यालय नागु र अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला आधारभूत विद्यालय झुस्कु मतदान केन्द्रमा स्थानीयले ‘नो भोट’ अभियान चलाउँदै मतदान नगरेका हुन्। नागुबासीले लामो समयदेखि सडक निर्माणको माग गर्दै आए पनि पटक–पटकको आश्वासनका बावजूद सडक नपुगेको भन्दै मतदान बहिष्कार गरेका थिए। त्यहाँ रहेका ६०२ जना मतदातामध्ये कसैले पनि मत खसालेनन्। यस्तै झुस्कुका करिब ३४६ मतदाताले वडा कार्यालय अपायक स्थानमा रहेको भन्दै त्यसलाई वडा नम्बर ४ मा सार्नुपर्ने माग राख्दै मतदानमा सहभागी भएनन्।
दार्चुलाका मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार दिनभर प्रतीक्षा गर्दा पनि दुवै केन्द्रमा एक मत पनि नखसेपछि मतदान अधिकृतसहितको टोली रित्तो मतपेटिका लिएर फर्किएको हो। जिल्लाभर १ सय १२ मतदान स्थल र १ सय ४३ मतदान केन्द्र (सहित दुई अस्थायी केन्द्र) कायम गरिएकामा यी दुई केन्द्र बाहेक अन्य स्थानमा भने शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जनाइएको छ। जिल्लामा कति प्रतिशत मत खस्यो भन्ने यकिन विवरण केही समयपछि सार्वजनिक गरिने निर्वाचन कार्यालयले जनाएको छ।

























