प्रहार समाचार । झापा, २१ फागुन २०८२ बिहीबार । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशकै चासोको केन्द्र बनेको झापा क्षेत्र नम्बर ५ मा शान्ति पूर्ण रूपमा विहान ७ बजेबाट मतदान सुरु भएको छ ।

सुरक्षा निकायले ‘हाई सेक्युरिटी जोन’ घोषणा गर्दै विशेष सुरक्षा घेरामा राखेको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहबीचको उच्चस्तरीय प्रतिस्पर्धाका कारण सम्भावित जोखिम मूल्यांकन गर्दै नेपाली सेना माघ २१ गतेदेखि नै दमक केन्द्रित कमान्ड पोस्टमार्फत परिचालित भएको हो ।
गौरादहदेखि गौरीगञ्जसम्म २५० भन्दा बढी विशेष सैनिक फौज खटाइएको सुरक्षा स्रोतले जनाएको छ । बख्तरबन्द गाडीमार्फत जमिनमा नियमित गस्ती र हेलिकप्टरमार्फत हवाई निगरानी बढाइएको छ । सेना तेस्रो सुरक्षा घेरामा रहेर मतदान स्थल, मतपेटिका ओसारपसार र मतगणना स्थलको चौबीसै घण्टा सुरक्षा जिम्मेवारी सम्हाल्नेछ भने बम डिस्पोजल टोलीलाई समेत ‘हाई अलर्ट’ अवस्थामा राखिएको छ ।
निर्वाचन बिथोल्न खोज्ने वा अवाञ्छित गतिविधि गर्ने तत्वमाथि तत्काल कारबाही गर्ने स्पष्ट निर्देशन सुरक्षा संयन्त्रलाई दिइएको जनाइएको छ । सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच समन्वयात्मक रूपमा परिचालन हुँदै झापा–५ मा शान्तिपूर्ण, निष्पक्ष र भयरहित मतदान सुनिश्चित गर्ने तयारी गरिएको अधिकारीहरूको भनाइ छ । लोकतान्त्रिक प्रक्रियालाई सुरक्षित राख्न सुरक्षा संयन्त्र पूर्ण तयारीका साथ मैदानमा उत्रिएको छ ।

























