हेडलाईनसमाचारप्रदेश

‘जेन- जी’ आन्दोलनपछि जनमतको फैसला : आज देशभर निर्णायक मतदान

प्रहार समाचार । काठमाडौँ, २१ फागुन २०८२ बिहीबार । जेन–जी विद्रोहको आँधीले सिंहदरबार हल्लाएको छ महिना बित्न नपाउँदै आज जनताले मतमार्फत आफ्नो निर्णय सुनाउँदै छन् । सत्ता परिवर्तन, प्रतिनिधिसभा विघटन र अन्तरिम नेतृत्वको यात्रापछि मुलुक फेरि मतपेटिकातर्फ फर्किएको हो । निर्वाचन आयोग ले बिहान ७ बजेदेखि सुरु हुने मतदान अपराह्न ५ बजेसम्म चल्ने जनाएको छ । त्यस अवधिभित्र मतदान केन्द्र प्रवेश गर्ने सबै मतदाताले मत हाल्न पाउनेछन् ।

प्रतिनिधिसभाका २७५ सिटका लागि प्रतिस्पर्धा चर्किएको छ । प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद चयन हुनेछन् । १ करोड ८९ लाखभन्दा बढी मतदाताले दुई फरक मतपत्रमा स्वस्तिक छाप लगाएर आफ्नो रोजाइ तय गर्नेछन् । प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ र समानुपातिकतर्फ ३ हजार १ सय ३५ उम्मेदवार चुनावी मैदानमा छन् । राजनीतिक दल र स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।


मतदाताको तथ्यांक पनि रोचक छ । ९६ लाख ६३ हजारभन्दा बढी पुरुष र ९२ लाख ४० हजारभन्दा बढी महिला मतदाता रहेका छन् । लैंगिक अल्पसंख्यक २ सय मतदाता सूचीकृत छन् । सुरक्षाकर्मी, कर्मचारी, कैदी र आश्रममा बस्ने गरी १ लाख ८६ हजारभन्दा बढी अस्थायी मतदाताका लागि छुट्टै मतदानस्थल तोकिएको छ । देशभर १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ मतदान केन्द्रमा मतदान भइरहेको छ ।
निर्वाचनलाई सुरक्षित बनाउन कडा सुरक्षा घेरा बनाइएको छ । मतदान केन्द्रको बाहिरी सुरक्षामा नेपाली सेना तैनाथ छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका गरी झन्डै तीन लाख सुरक्षाकर्मी परिचालन गरिएको छ । ३ हजार ६ सय ८० मतदानस्थललाई ‘अति संवेदनशील’ सूचीमा राखेर विशेष निगरानी थालिएको छ । दुर्गम जिल्लामा हेलिकोप्टरमार्फत सामग्री र जनशक्ति पुर्‍याइएको आयोगले जनाएको छ ।


मतगणनालाई पनि यस पटक थप पारदर्शी र व्यवस्थित बनाइएको छ । गणनास्थल तारजाली र फलामे बारले सुरक्षित गरिएको छ भने सीसीटीभी निगरानी अनिवार्य गरिएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र सार्वजनिक गर्ने लक्ष्य राखिएको बताएका छन् । एक साताभित्र अन्तिम परिणाम घोषणा गर्ने तयारी छ ।

गत २४ भदौमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि राष्ट्रपति रामचन्द्र पौडेल ले प्रतिनिधिसभा विघटन गरी चुनाव घोषणा गरेका थिए । राजनीतिक उथलपुथलबाट गुज्रिएको मुलुक आज मतमार्फत नयाँ दिशा तय गर्ने मोडमा छ । अबको केही दिनमै जनमतले नयाँ सत्ता समीकरण र भावी राजनीतिक बाटो स्पष्ट पार्नेछ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button