हेडलाईनसमाचारप्रदेश

प्रतिनिधिसभा सदस्यका लागि भोलि देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा चुनव हुँदै

प्रहार समाचार । काठमाडौं, २० फागुन २०८१ बुधबार । प्रतिनिधिसभा सदस्यका लागि भोलि फागुन २१ गते देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा एकै चरणमा मतदान हुँदैछ । गत भदौ महिनामा भएको ‘जेन जी’ आन्दोलनपछि प्रतिनिधिसभा भंग भएकाले निर्धारित समयभन्दा अगाडि नै निर्वाचन गर्नुपरेको हो । यही कारण यो निर्वाचनलाई राजनीतिक स्थायित्व पुनःस्थापना गर्ने अवसरका रूपमा हेरिएको छ ।

यस निर्वाचनबाट प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० जना सांसद निर्वाचित हुनेछन् । मतदाताले प्रत्यक्ष र समानुपातिक प्रणालीका लागि छुट्टाछुट्टै मतपत्रमा मतदान गर्ने व्यवस्था गरिएको छ । देशभरका मतदानस्थल र मतदान केन्द्रमा आवश्यक सामग्री र कर्मचारी पुगिसकेको भन्दै निर्वाचन आयोगले तयारी पूरा भएको जनाएको छ ।

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष बनाउन राष्ट्रिय सुरक्षा परिषद्ले कुनै किसिमको अभाव हुन नदिने निर्णय गरेको छ । सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा राखिएको छ भने संवेदनशील क्षेत्रहरूमा अतिरिक्त सुरक्षा व्यवस्था मिलाइएको जनाइएको छ । निर्वाचनको अघिल्लो दिन प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेल बीच भेटवार्ता समेत भएको थियो । भेटमा निर्वाचनको समग्र वातावरण र सुरक्षा अवस्थाबारे छलफल भएको बुझिएको छ ।

निर्वाचनलाई दृष्टिगत गर्दै सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ । तीन तहको कडा सुरक्षा घेरा र पूर्ण तयारीबीच भोलिको मतदानलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने राज्य संयन्त्रको दाबी छ । मतदाताहरुपनि भोलिको निर्वाचनमा उत्साहकासाथ भाग लिने अपेक्षा गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button