हेडलाईनसमाचारप्रदेश

‘मतगणना सुरु भएको २४ घण्टामै प्रत्यक्षतर्फको नतिजा आउँछ ।’ – आयोग

प्रहार समाचार । काठमाडौं, २० फागुन २०८२ बुधबार । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतगणना सुरु भएको २४ घण्टाभित्रै परिणाम सार्वजनिक गर्ने दाबी गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भौगोलिक जटिलता भए पनि मतपेटिका संकलन र गणनालाई तीव्र गतिमा अघि बढाइने स्पष्ट पारे। “पहाडी र हिमाली भूभागबाट मतपेटिका सकेसम्म छिटो संकलन गर्छौं। पहिलो हुने प्रणालीतर्फ मतगणना प्रारम्भ भएको २४ घण्टाभित्रै परिणाम ल्याउने हाम्रो तयारी छ,” उनले भने।

आयोगका अनुसार यसपटक मतपेटिका ढुवानी, गणनास्थल व्यवस्थापन र सुरक्षाको समन्वयलाई कडाइका साथ कार्यान्वयन गरिनेछ। दुर्गम क्षेत्रबाट मतपेटिका ल्याउन सुरक्षा निकायसँग समन्वय बढाइएको र आवश्यक परे हवाई माध्यमसमेत प्रयोग गरिने तयारी रहेको जनाइएको छ। गणनास्थलमा कर्मचारी परिचालन, प्रतिनिधिको उपस्थिति र पारदर्शिता सुनिश्चित गर्न स्पष्ट कार्यविधि लागू गरिएको आयोगको भनाइ छ। समानुपातिकतर्फको मतगणना पनि सँगसँगै अघि बढाइने र सोतर्फको परिणामसमेत छिट्टै सार्वजनिक गरिने भण्डारीले बताए।


निर्वाचनको मिति घोषणा भएपछि विशेषगरी युवामा देखिएको उत्साहलाई आयोगले सकारात्मक संकेतका रूपमा लिएको छ। अघिल्ला निर्वाचनको तुलनामा यसपटक मत खस्ने प्रतिशत बढ्ने र बदर मत घट्ने अनुमान गरिएको छ। मतदाता शिक्षासम्बन्धी कार्यक्रम, परिचयपत्र व्यवस्थापन र मतदान प्रक्रियाबारे गरिएको सचेतनाले मतदातालाई थप जिम्मेवार बनाएको आयोगको दाबी छ। “सहभागिता बढ्नेछ, बदर मत घट्नेछ,” भण्डारीले भने, “नतिजा मात्र होइन, समग्र निर्वाचन प्रक्रिया पनि व्यवस्थित र विश्वसनीय हुनेमा हामी विश्वस्त छौं।”


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button