• विजय अधिकारी (संवाददाता) प्रहार समाचार । २० फागुन २०८२ बुधबार । प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै लमजुङमा व्यापक जनशक्ति परिचालन गरिएको छ। जिल्लाका १ सय ३० मतदान स्थलमा १ सय ९२ मतदान केन्द्र कायम गरिएका छन्। भोलि हुने निर्वाचन शान्तिपूर्ण र व्यवस्थित बनाउन १ हजार १ सय ५० कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

खटाइएका जनशक्तिमध्ये १ सय ४० जना संघीय सरकारका कर्मचारी, ८६ जना प्रदेश सरकारका कर्मचारी, ५ सय ५६ जना स्थानीय तहका कर्मचारी र ७८ जना सार्वजनिक संस्थानका कर्मचारी रहेका छन्। यसका साथै २ सय ९० जना प्राथमिक तहका शिक्षक पनि निर्वाचन कार्यमा परिचालित छन्। माध्यमिक तथा निम्न माध्यमिक तहका शिक्षक, स्थानीय तहका अस्थायी तथा करार कर्मचारी र संस्थानका करार कर्मचारीलाई भने निर्वाचनमा नखटाइएको कार्यालयले स्पष्ट पारेको छ।
हरेक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना सहयोगी कर्मचारी रहने व्यवस्था मिलाइएको छ। मतदाताको सङ्ख्याका आधारमा कर्मचारी संख्या फरक–फरक राखिएको छ। ५ सयभन्दा बढी मतदाता रहेका केन्द्रमा स्वयंसेवकसहित ९ जना र ५ सयभन्दा कम मतदाता रहेका केन्द्रमा ८ जना कर्मचारी परिचालन गरिएको छ। सुरक्षाकर्मीको छुट्टै व्यवस्था गरिएको जनाइएको छ।

निर्वाचनलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने लक्ष्यका साथ प्रशासनिक तयारी पूरा भएको बताइएको छ। जिल्लाभरका मतदान केन्द्रमा आवश्यक सामग्री पुर्याइसकिएको र कर्मचारी तोकिएको स्थानमा पुगिसकेको कार्यालयले जनाएको छ। अब मतदाताको सहभागितामै निर्वाचनको सफलता निर्भर रहने देखिएको छ।


























