प्रहार समाचार । काठमाडौँ, २० फागुन २०८२ बुधबार । अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। मंगलबार उच्च विन्दुमा पुगेको सुनको भाउ एकैदिन प्रतितोला ११ हजार रुपैयाँले घट्दा बजारमा किनबेचको मनोविज्ञानसमेत बदलिएको देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार यही सुन ३ लाख २८ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो। अघिल्लो दिन २ हजार ५ सय रुपैयाँले बढेको सुनको भाउ भोलिपल्टै ठूलो अन्तरले घटेपछि लगानीकर्ता र उपभोक्ता दुवै प्रतीक्षाको अवस्थामा देखिएका छन्।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ५ हजार ५ सय ४० रुपैयाँमा झरेको छ। यो प्रतितोला २ सय ७५ रुपैयाँको गिरावट हो।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ५ हजार १ सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय मूल्यमा देखिएको उतारचढाव, डलर विनिमय दर र स्थानीय माग–आपूर्तिको अवस्थाले स्वदेशी बजारमा प्रत्यक्ष असर पार्ने भएकाले आगामी दिनमा भाउ थप घट्ने कि पुनः उकालो लाग्ने भन्ने चासो बढेको छ।

























