हेडलाईनसमाचारगण्डकीस्वास्थ्य

लमजुङको बेसीशहर अस्पतालमा निर्वाचन लक्क्षित आपतकालिन चिकित्सकीय समूह गठन

• विजय अधिकारी (संवाददाता) प्रहार समाचार । लमजुङ, २० फागुन २०८२ बुधबार । भोलि गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रदेश अस्पताल बेसीशहरले आकस्मिक स्वास्थ्य सेवा चुस्त बनाउन आपतकालीन चिकित्सकीय समूह गठन गरेको छ। मतदानका दिन सम्भावित दुर्घटना, झडप, भीड व्यवस्थापनजन्य समस्या वा अन्य आकस्मिक अवस्थालाई मध्यनजर गर्दै अस्पतालले पूर्वतयारी स्वरूप विशेष टोली खडा गरेको हो। अस्पताल प्रशासनले निर्वाचन अवधिभर सेवा प्रवाहमा कुनै अवरोध नआउने दाबी गरेको छ।

स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश बाट २०८२–११–१७ गते प्राप्त पत्रअनुसार अस्पतालले विशेषज्ञसहितको टोलीको विवरण तयार गरी सम्बन्धित निकायमा पठाएको जनाएको छ। मन्त्रालयको निर्देशनअनुसार निर्वाचन अवधिमा स्वास्थ्य संस्थाहरू उच्च सतर्कतामा रहनुपर्ने भएकाले सोहीअनुरूप तयारी अघि बढाइएको अस्पतालले जनाएको हो।


गठन गरिएको टोलीमा अर्थोपेडिक सर्जन डा. कुलदिप खत्री सापकोटा, मेडिकल अधिकृत डा. मनु देवकोटा, स्टाफ नर्स सुष्मिता गुरुङ, एनेस्थेसिया सहायक रामकृष्ण खत्री, अ.न.मी. शोभा श्रेष्ठ र ह.स.चा. भवन आले मगर रहेका छन्। टोलीलाई आवश्यक परे तत्काल परिचालन गर्न सकिने गरी आकस्मिक कक्ष, शल्यक्रिया कक्ष र आवश्यक उपकरण तयारी अवस्थामा राखिएको अस्पताल स्रोतले जनाएको छ।


अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाका अनुसार निर्वाचन अवधिभर अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको ड्युटी रोस्टरसमेत मिलाएर सम्बन्धित निकायमा पठाइसकिएको छ। “निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न होस् भन्ने हाम्रो अपेक्षा छ, तर कुनै पनि आकस्मिक अवस्था आएमा तुरुन्त सेवा दिन सक्ने गरी तयारी गरेका छौँ,” उनले भने। अस्पतालले सर्वसाधारणलाई अनावश्यक हल्लामा नलाग्न र आपतकालीन अवस्थामा मात्रै अस्पतालको सेवा लिन अनुरोधसमेत गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button