प्रहार समाचार । काठमाडौँ ,२० फागुन २०८२ बुधबार । भोलि हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले ६ प्रकारका परिचयपत्रमध्ये कुनै एक देखाएर मतदान गर्न सक्ने भएका छन्। निर्वाचन आयोग नेपालका अनुसार मतदाता परिचयपत्र नभए पनि अन्य वैध सरकारी कागजातका आधारमा मतदान गर्न पाइने व्यवस्था गरिएको हो।

आयोगले जारी गरेको सूचनाअनुसार मतदानका दिन मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) मध्ये कुनै एक प्रस्तुत गरे पुग्नेछ। तर अनिवार्य सर्त भनेको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने हो। नामावलीमा नाम नभए कागजात भए पनि मतदान गर्न नपाइने आयोगले स्पष्ट पारेको छ।
मतदान केन्द्रमा सहजता र भीड व्यवस्थापनका लागि मतदातालाई समयमै उपस्थित हुन, आवश्यक कागजात साथमा ल्याउन र मतदान आचारसंहिता पालना गर्न आयोगले आग्रह गरेको छ। यस व्यवस्थाले मतदाता परिचयपत्र हराएका वा साथमा नभएका मतदातालाई समेत मतदान प्रक्रियामा सहभागी हुन सहुलियत मिल्ने विश्वास आयोगको छ।

























