प्रहार समाचार । काठमाडौँ, २० फागुन २०८२ बुधबार । पछिल्लो समय विशेषगरी युवापुस्तामाझ “नेपालमा केही भएन” भन्ने निराशावादी भाष्य झाँगिँदै गएको सन्दर्भमा सडक, स्वास्थ्य, शिक्षा, विद्युत् र अर्थतन्त्रका सूचकहरूले भने फरक तस्वीर देखाएका छन्। राष्ट्रिय तथ्यांक कार्यालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग का विभिन्न प्रकाशनमा सार्वजनिक तथ्यांकअनुसार २०४८ देखि २०८२ सम्मको ३४ वर्षमा नेपालले भौतिक र सामाजिक पूर्वाधारमा उल्लेख्य फड्को मारेको छ।

सङ्ख्यात्मक रूपमा मात्रै होइन, नागरिकको दैनिक जीवनमै परिवर्तन देखिने गरी विकासका आधारहरू बलिया बनेका छन्।
पूर्वाधारतर्फ हेर्दा २०४८ मा ३ हजार ९ सय ३३ किलोमिटर रहेको राजमार्ग सञ्जाल २०८२ सम्म आइपुग्दा १८ हजार १ सय किलोमिटर पुगेको छ। स्थानीय सडक २ हजार ७ सय ४८ किलोमिटरबाट बढेर ६७ हजार २ सय ४६ किलोमिटर पुगेको छ। सडक सञ्जालको विस्तारसँगै दुर्गम गाउँहरू बजार, विद्यालय र स्वास्थ्य संस्थासँग जोडिएका छन्। स्वास्थ्य क्षेत्रमा औसत आयु ५८ वर्षबाट बढेर ७१ वर्ष पुगेको छ। मातृ मृत्युदर एक लाख सुत्केरीमा ५३९ बाट घटेर १०१ मा झरेको छ भने शिशु मृत्युदरमा पनि उल्लेख्य कमी आएको छ। पहिले एक चिकित्सकले ९२ हजार जनसंख्यालाई सेवा दिन्थे, अहिले करिब ११ सय जनसंख्यामा एक चिकित्सकको पहुँच पुगेको छ। देशभर ३४५ सार्वजनिक अस्पताल र करिब १ हजार १ सय स्वास्थ्य संस्था सञ्चालनमा छन्।
शिक्षातर्फ साक्षरता दर ३९ प्रतिशतबाट बढेर ७६ प्रतिशत पुगेको छ। प्राथमिक विद्यालयमा भर्ना दर ६२ प्रतिशतबाट ९६ प्रतिशत पुगेको छ भने आधारभूत तह पूरा गर्ने दर २७ प्रतिशतबाट ८६ प्रतिशत पुगेको छ। माध्यमिक विद्यालयको संख्या १ हजार ९ सय ५४ बाट बढेर ११ हजार पुगेको छ। ऊर्जा क्षेत्रमा २ सय २७ मेगावाट रहेको जडित विद्युत् क्षमता ३ हजार ५ सय मेगावाट पुगेको छ र ९८ प्रतिशत घरधुरीमा विद्युत् पहुँच विस्तार भएको छ। अर्थतन्त्रतर्फ प्रतिव्यक्ति आय २०४ अमेरिकी डलरबाट बढेर १ हजार ४ सय ९६ अमेरिकी डलर पुगेको छ भने गरिबीको रेखामुनि रहेका नागरिकको अनुपात ४२ प्रतिशतबाट घटेर २० प्रतिशतमा झरेको छ। यी तथ्यांकहरूले स्पष्ट सन्देश दिन्छन्—चुनौतीहरू बाँकी रहे पनि नेपाल ठप्प छैन; विकासको यात्रा क्रमशः अघि बढिरहेको छ र परिवर्तन देखिने गरी भइरहेकै छ।

























