हेडलाईनसमाचारप्रदेश

सोमबार मध्यरातदेखि मौन अवधि सुरू : मौन अवधि उलङ्घन गरे के- के हुन्छ कार्रवाही ?

प्रहार समाचार । काठमाडौँ, १९ फागुन २०८२ मङ्गलबार । यहि फागुन २१ गते बिहीबार हुने प्रतिनिधि सभा सदस्य चयनका लागि सोमबार मध्यरातदेखि मौन अवधि लागू भएको छ । मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघि सुरु भई मतदान नसकिएसम्म कायम रहने यस अवधिमा प्रचारप्रसार, सभा–सम्मेलन, भेला, भाषण, अन्तरक्रिया, सामाजिक सञ्जाल पोस्ट तथा मत माग्ने कुनै पनि गतिविधि पूर्णरूपमा निषेध गरिएको छ ।

निर्वाचन आचारसंहिता २०८२ को दफा १७ ले तोकेको विशेष आचरणअनुसार मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका दल वा उम्मेदवारका प्रचार सामग्रीसमेत हटाउन थालिएको छ । आयोगका अनुसार ६ माघमा उम्मेदवारी दर्ता गरेका दलहरूले ४ फागुनदेखि सुरु गरेको प्रचार सोमबार मध्यरातसँगै औपचारिक रूपमा बन्द भएको हो ।


कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने आर्थिक चलखेल, मतदाता प्रभावित गर्ने क्रियाकलाप वा सामाजिक सञ्जालमार्फत पक्ष–विपक्षमा सन्देश प्रवाह गरेको पाइए उम्मेदवारी खारेजदेखि ६ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने गरी कडा कारबाही गरिने चेतावनी दिएका छन् । “निर्वाचनलाई प्रभाव पार्ने गतिविधिमाथि शून्य सहनशीलताको नीति अवलम्बन गरिनेछ,” उनले स्पष्ट पारे । राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, भ्रातृ संगठन तथा आचारसंहिता पालना गर्नुपर्ने सबै व्यक्ति र निकायलाई पूर्ण संयम अपनाउन आयोगले निर्देशन दिएको छ ।


आयोगले स्वतन्त्र, स्वच्छ र भयमुक्त वातावरणमा मतदान सम्पन्न गर्न जिल्लास्तरका अनुगमन संयन्त्रलाई सक्रिय बनाएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख र आचारसंहिता अनुगमन अधिकृतलाई आर्थिक चलखेल तथा गोप्य गतिविधि निगरानी गर्न विशेष निर्देशन दिइएको छ । पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार मौन अवधि मतदातालाई सुसूचित र स्वतन्त्र निर्णय लिन दिने समय हो । यसबीच मतदान केन्द्र तयारी, सुरक्षा मूल्यांकन र व्यवस्थापनका काम तीव्र पारिँदै शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्ने तयारी गरिएको आयोगले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button