हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

आज फागुपूर्णिमा : हिमाली र पहाडी क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदै

प्रहार समाचार । काठमाडौँ, १८ फागुन २०८२ सोमबार । आज फागुपूर्णिमा । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप, सद्भावना र खुसी साट्ने पर्व फागु (होली) हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ । परम्पराअनुसार रंग र अबिर लगाएर, एकअर्कामा शुभकामना साट्दै यो पर्व मनाउने चलन छ । पछिल्ला वर्षहरूमा देखिँदै आएको अवाञ्छित गतिविधि कम हुँदै गएपछि यस वर्ष फागु अझै सभ्य, मर्यादित र पारिवारिक वातावरणमा मनाइँदै छ ।

राजधानी काठमाडौँमा फागुको मुख्य आकर्षणका रूपमा बिहानैदेखि वसन्तपुर क्षेत्र रंगीन बनेको छ । वसन्तपुरमा गाडिएको चिरलाई विधिपूर्वक ढालेर बाजागाजाका साथ टुँडिखेल लगेर जलाउने परम्परा आज सम्पन्न हुँदै छ । चिरमा बाँधिएका ध्वजापताका औषधीय गुण हुने विश्वासका साथ लिने र चिरको खरानीको टीका लगाउँदा अनिष्ट टर्छ भन्ने जनविश्वास रहिआएको छ । फागुन शुक्ल अष्टमीका दिन चिर गाडिएसँगै सुरु भएको फागु आज पूर्णिमाका दिन समापन हुने परम्परा छ ।
केही वर्षअघिसम्म सडकमा हिँड्ने सर्वसाधारणमाथि जबर्जस्ती रंग र लोला हान्ने, फोहर पानी छ्याप्ने जस्ता विकृति देखिए पनि यस वर्ष त्यस्ता गतिविधि न्यून देखिएका छन् ।

प्रहरीको सक्रियता र नागरिक सचेतनाका कारण सर्वसाधारणले सहज रूपमा हिँडडुल गर्न पाएका छन् । भ फागु पर्वसँग धार्मिक विश्वास पनि जोडिएका छन् । त्रेतायुगमा भक्त प्रह्लादलाई मार्न खोज्दा होलिका आफैँ आगोमा भष्म भएकी कथा र द्वापरयुगमा पुतना राक्षसीको वधपछि फागु मनाइएको प्रसङ्गले असत्य र अहंकारमाथि सत्यको विजयको सन्देश दिन्छ । आयुर्वेदिक मान्यताअनुसार प्राकृतिक रंग र अबिरले छालालाई फाइदा पुर्‍याउने र जाडो मौसममा जमेको कफ नष्ट गर्ने विश्वास छ ।


फागुपूर्णिमाका अवसरमा सरकारले हिमाली र पहाडी जिल्लामा सार्वजनिक बिदा दिएको छ भने तराईका जिल्लामा पूर्णिमाको भोलिपल्ट होली मनाइने परम्परा अनुसार भोलि बिदा दिइएको छ । पछिल्ला वर्षमा नशालु पदार्थको दुरुपयोग, झैझगडा र सवारीसाधनमा लोला हान्ने जस्ता विकृति घट्दै जानु फागु पर्व सकारात्मक र संस्कारयुक्त दिशातर्फ अघि बढिरहेको संकेतका रूपमा हेरिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button