प्रहार समाचार । काठमाडौं, १७ फागुन २०८२ आइतबार । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको राजधानी तेहरान लक्षित सैन्य कारबाही अझ तीव्र बनाउने स्पष्ट सन्देश दिएका छन्। आइतबार रक्षा मन्त्री, सेना प्रमुख तथा गुप्तचर निकाय मोसाद का प्रमुखसँगको उच्चस्तरीय बैठकपछि उनले इरानविरुद्धको अभियान रोकिने होइन, झनै कडा हुने बताएका हुन्। इजरायली नेतृत्वको यो निर्णयले मध्यपूर्वलाई थप अस्थिरतर्फ धकेल्ने संकेत गरेको छ।

बैठकपछि सार्वजनिक प्रतिक्रिया दिँदै नेतान्याहुले पछिल्ला दिनमा इजरायलले बेहोरेको मानवीय क्षतिप्रति दुःख व्यक्त गरे। उनले तेल अभिभ र बेत शेमेश मा भएका घटनामा निर्दोष नागरिकको ज्यान गएको उल्लेख गर्दै यसलाई गम्भीर क्षति भने। मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्।

तर, एकातिर नागरिक क्षतिको पीडा स्वीकार्दै अर्कोतिर युद्धलाई अझ कडा बनाउने निर्णयले इजरायल को रणनीतिमाथि प्रश्न पनि उठाएको छ। इरानसँगको टकराव दीर्घकालीन द्वन्द्वमा बदलिन सक्ने चिन्ता अन्तर्राष्ट्रिय स्तरमा बढ्दै गएको छ। नेतान्याहुको भनाइलाई उद्धृत गर्दै बीबीसी ले इजरायलले इरानविरुद्धको सैन्य अभियान कुनै पनि हालतमा जारी राख्ने अडान लिएको जनाएको छ।

























