हेडलाईनसमाचारप्रदेशअन्तर्राष्ट्रिय समाचार

मध्यपूर्वमा युद्ध चर्किँदा युएईमा एक नेपालीको गयो ज्यान: कतारस्थित दूतावासको उच्च सतर्कता आह्वान

प्रहार समाचार । काठमाडौँ, १७ फागुन २०८२ आईतबार ।इरानका सर्वोच्च नेता आयतउल्लाह अलि खामेनीको मृत्यु भएसँगै मध्यपूर्वको सुरक्षा अवस्था एकाएक तनावग्रस्त बनेको छ । खामेनीको मृत्युपछि इरानले अमेरिकासँग आबद्ध सैन्य संरचनालाई लक्षित गर्दै आक्रमण तीव्र पारेको दाबी गरिएको छ । सोही क्रममा संयुक्त अरब इमिरेट्समा कार्यरत एक नेपाली नागरिकको ज्यान गएको पुष्टि भएको छ । घटनामा एक पाकिस्तानी र एक बंगलादेशी नागरिकको समेत मृत्यु भएको जनाइएको छ, तर नेपाली नागरिकको मृत्यु भएको स्थान र परिस्थितिबारे आधिकारिक विवरण अझै सार्वजनिक गरिएको छैन ।

इरानले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी बेस क्याम्पहरू लक्षित गर्दै सयौँ मिसाइल र ड्रोन प्रहार गरेको बताइएको छ । आक्रमणको दायरा फराकिलो बन्दै जाँदा खाडी क्षेत्रभर त्रास फैलिएको छ । अमेरिकी उपस्थिति रहेका क्षेत्रहरू उच्च जोखिममा परेका छन् भने सर्वसाधारण विदेशी श्रमिकहरू प्रत्यक्ष असरमा परिरहेका छन् । युद्धको छायाँले रोजगारीका लागि खाडी पुगेका लाखौँ आप्रवासी कामदार असुरक्षित महसुस गर्न थालेका छन् ।

यसैबीच कतारस्थित नेपाली राजदूतावास, दोहाले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । दूतावासले कतारी अधिकारीहरूले जारी गरेका सुरक्षा निर्देशन कडाइका साथ पालना गर्न, सकेसम्म घरभित्रै बस्न, अनावश्यक बाहिर ननिस्कन तथा अफवाह र अप्रमाणित सूचनाबाट टाढा रहन अनुरोध गरेको छ । साथै आधिकारिक घोषणा र आपतकालीन सन्देशहरू नियमित रूपमा हेरी पालना गर्नसमेत सचेत गराइएको छ ।


दूतावासले आपतकालीन अवस्थामा आफूहरूसँग निरन्तर सम्पर्कमा रहन आग्रह गर्दै खाडी क्षेत्रको अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ । युद्धको विस्तारले खाडी मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षालाई लिएर चिन्ता थप बढाएको छ । विकसित घटनाक्रमले मध्यपूर्वलाई थप अस्थिर बनाउने संकेत देखिएपछि अन्तर्राष्ट्रिय स्तरमा कूटनीतिक पहलको आवश्यकता औँल्याइँदै गएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button