हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

खाडी युद्धको संघारमा : १९ लाख नेपाली असुरक्षाको घेरामा

प्रहार समाचार । काठमाडौँ, १६ फागुन २०८२ शनिबार । इजरायल र इरानबीच प्रत्यक्ष आक्रमण सुरु भएसँगै खाडी क्षेत्र युद्धको संघारमा पुगेको छ । अमेरिकाको संलग्नताले तनाव झन् चर्किएको छ । इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि इरानले खाडी क्षेत्रका अमेरिकी सैन्य बेसहरू लक्षित गरी जवाफी कारबाही थालेको जनाएको छ ।

कतार, साउदी अरब, बहराइन, कुवेत, संयुक्त अरब इमिरेट्स (युएई) र ओमानस्थित अमेरिकी क्याम्पहरू उच्च सतर्कतामा राखिएका छन् । यही क्षेत्रभित्र करिब १९ लाख नेपाली श्रमिक कार्यरत रहेकाले उनीहरूको सुरक्षालाई लिएर गम्भीर चिन्ता बढेको छ ।


खाडी मुलुकमध्ये सबैभन्दा बढी संयुक्त अरब इमिरेट्समा ९ लाख नेपाली कार्यरत छन् । साउदी अरबमा ३ लाख ८४ हजार, कतारमा ३ लाख ६० हजार, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा ३० हजार र ओमानमा २५ हजार नेपाली रहेका छन् । यस्तै, इराकमा २५ हजार, इजरायलमा ५ हजार र लेबनानमा १ हजार नेपाली बसोबास गरिरहेका छन् । इरानले युएईको राजधानी आबुधाबी र दुबई लक्षित आक्रमण गरेको दाबी गरिएको छ । उक्त आक्रमणमा एक एसियाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ, तर उनको पहिचान सार्वजनिक गरिएको छैन । युएई सरकारले यसलाई राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भन्दै कडा शब्दमा निन्दा गरेको छ ।


उता कतारको वरुवा सिटीमा आप्रवासी श्रमिक बस्ने भवनमा विस्फोट भएको खबर सार्वजनिक भएको छ । मानवीय क्षति नभएको अलजजिराले जनाएको छ । युएईस्थित नेपाली दूतावासले नेपाली नागरिकलाई अनावश्यक आवतजावत नगर्न, भीडभाडबाट टाढा रहन र सम्बन्धित देशका सुरक्षा निकायले जारी गरेका निर्देशन कडाइका साथ पालना गर्न आग्रह गरेको छ । युद्धको छायाँ गहिरिँदै जाँदा खाडीमा रहेका लाखौं नेपाली श्रमिक त्रासमा छन्, र नेपाल सरकारले सम्भावित आपतकालीन अवस्थाका लागि कूटनीतिक तथा उद्धार तयारीबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग पनि उठ्न थालेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button