प्रहार समाचार । लमजुङ, १६ फागुन २०८२ शनिबार । शिक्षकको पेशागत हकहित, संगठनको भूमिकामाथि पुनर्विचार र समाजप्रतिको जिम्मेवारीबारे ठेट बहस गर्दै नेपाल शिक्षक संघ लमजुङको सातौँ प्रतिनिधि सभा तथा शिक्षक सम्मान कार्यक्रम बेसीशहरमा हिंजो सम्पन्न भएको छ ।

सभाले शिक्षकहरू एकजुट नभएसम्म अधिकार सुरक्षित नहुने निष्कर्ष निकाल्दै अब संगठनलाई कागजमै होइन, मैदानमै सक्रिय बनाउनु पर्ने सन्देश प्रवाह गरेको छ । कार्यक्रममा बोल्दै संघका निवर्तमान अध्यक्ष तथा विश्व शिक्षक महासङ्घ एसिया–प्यासिफिक क्षेत्रका बोर्ड सदस्य राजेन्द्रराज पौडेलले शिक्षकका अधिकार कसैले दान नदिने स्पष्ट शब्दमा बताए । उनले विधि र पद्धतिमा रहेर संगठनलाई चलायमान बनाउन सके मात्र शिक्षकले उपलब्धि हासिल गर्न सक्ने उल्लेख गरे । स्थापना कालदेखि नै आफू शिक्षकहरूको हकहित र अधिकारका लागि संघर्षरत रहेको भन्दै उनले शिक्षक संघकै कारण आज धेरै अधिकार सम्भव भएको दाबी गरे ।

सभामा सहभागी केन्द्र, प्रदेश र जिल्ला तहका प्रतिनिधि तथा स्थानीय अध्यक्षहरूले शिक्षण पेशामा बढ्दै गएका चुनौती, नीति–निर्णय प्रक्रियामा शिक्षकको कमजोर उपस्थिति र समाजप्रतिको उत्तरदायित्वबारे खुला धारणा राखे । देशका हरेक परिवर्तनमा शिक्षकको योगदान निर्णायक रहेको उल्लेख गर्दै उनीहरूले निराशा र कुन्ठालाई चिर्दै ज्ञान र विवेक प्रयोग गर्नुपर्नेमा जोड दिए । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै योग्य व्यक्ति छनोटका लागि समाजलाई सही दिशाबोध गर्ने जिम्मेवारी शिक्षककै काँधमा रहेको सन्देश पनि सभाबाट स्पष्ट रूपमा प्रवाह गरियो ।

कार्यक्रममा शैक्षिक सत्र २०८१ को एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, सेवा निवृत्त शिक्षक र सेवामा नवप्रवेशी शिक्षकहरूलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो । जिल्ला उपाध्यक्ष सीता बरालले स्वागत मन्तव्य राखेकी थिइन् भने सह–सचिव भरत घिमिरेले कार्यक्रम सहजीकरण गरेका थिए । प्रतिनिधि सभाले जिल्ला अध्यक्ष सूर्यबहादुर केसीले प्रस्तुत गरेको सांगठनिक र अर्थसचिव प्रदीप घिमिरेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ ।

अध्यक्ष सूर्यबहादुर केसीको सभापतित्वमा सम्पन्न सभाले शिक्षक एकता, संगठन मजबुती र समाजप्रतिको उत्तरदायित्वलाई व्यवहारमै उतार्ने प्रतिबद्धतासहित कार्यक्रम समापन गरेको छ ।





























