प्रहार समाचार । तनहुँ, १६ फागुन २०८२ शनिबार । मगर दिवसको अवसरमा तनहुँको अनसन चौतारीमा हिंजो आयोजित शान्तिपूर्ण सांस्कृतिक कार्यक्रममा प्रहरी दमन भएको आरोप सार्वजनिक भएको छ। कार्यक्रमलाई कमजोर बनाउने प्रयास भइरहेका बेला ठूलो संख्यामा भेला भएका युवाहरूले संस्कृति, पहिचान र भविष्यको पक्षमा आवाज उठाएका थिए। तर भीड बढ्दै जाँदा अवस्था तनावग्रस्त बनेको र प्रहरी परिचालन गरी बल प्रयोग गरिएको दाबी उज्यालो नेपाल पार्टी तनहुँ १ का उम्मेदवार मन्जिल रानाले प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेका छन् । शान्तिपूर्ण अभिव्यक्तिलाई नियन्त्रण गर्न खोजिएको भन्दै रानाले स राज्य संयन्त्रमाथि गम्भीर प्रश्न उठाएका छन्।

विज्ञप्तिअनुसार, कार्यक्रममा युवाहरूले युवा नेतृत्व र उज्यालो नेपाल पार्टी प्रति खुलेर समर्थन जनाएपछि केही राजनीतिक समूह असहज बन्न पुगेको थियो । त्यसपछि भीड तर्साउन रवि लामिछाने र बालेन्द्र साह आउने हल्ला फैलाइएको आरोप छ। स्वतन्त्र रूपमा भेला भएका युवाहरूले सडकछेउमा कालो झण्डा देखाएर शान्तिपूर्ण असहमति जनाउँदा प्रहरी हस्तक्षेप भएको र अवस्था झडपमा परिणत भएको जनाइएको छ।
प्रहरीको बल प्रयोगका क्रममा उज्यालो नेपाल पार्टी तनहुँका नेता शुभम श्रेष्ठ गम्भीर घाइते भई अस्पताल भर्ना गरिएको विज्ञप्तिमा उल्लेख छ। साथै, केही अन्य युवाहरू कुटपिट, अपमान, हिरासत र जेलसम्म पुग्नुपरेको दाबी गरिएको छ। शान्तिपूर्ण कार्यक्रममा संवादको सट्टा लाठीचार्ज र बल प्रयोग गरिएको भन्दै आक्रोश व्यक्त गरिएको छ। उता, राष्ट्रिय स्वतन्त्र पार्टी सँग सम्बद्ध ठूलो जुलुसले सडक अवरुद्ध गर्दा भने प्रहरीले सहजता दिएको आरोप लगाउँदै दोहोरो मापदण्ड अपनाइएको प्रश्न उठाइएको छ। निर्वाचन आचारसंहिता सबैका लागि समान रूपमा लागू हुनुपर्ने माग गरिएको छ। हेरौं प्रेस विज्ञप्ति :

उम्मेदवार मन्जिल रानाले लोकतन्त्रमा नागरिकको शान्तिपूर्ण असहमति जनाउने अधिकार सुरक्षित हुनुपर्नेमा जोड दिएका छन्। उनले १५ वर्षदेखि क्षेत्रको सेवामा सक्रिय रहेको उल्लेख गर्दै चुनाव जिते–हारे पनि शिक्षा, कृषि र पर्यटन क्षेत्रमा निरन्तर काम गर्ने प्रतिबद्धता दोहोर्याएका छन्। मगर दिवसको सांस्कृतिक कार्यक्रमबाट सुरु भएको यो घटनाक्रमले तनहुँमा लोकतान्त्रिक अभ्यास, राजनीतिक सहिष्णुता र राज्यको भूमिकाबारे गम्भीर बहस चर्काएको छ।



























